Logo

Oct 24 2026 | २०८३, कार्तिक ८गते

ऐतिहासिक ‘कार्तिक नाच’ कात्तिक २७ गतेदेखि पाटनमा प्रदर्शन हुने

ऐतिहासिक ‘कार्तिक नाच’ कात्तिक २७ गतेदेखि पाटनमा प्रदर्शन हुने

काठमाडौँ : ललितपुरको ऐतिहासिक पाटन दरबारस्थित कात्तिक डबलीमा देखाइने प्रसिद्ध ‘कार्तिक नाच’ यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ।

नाच संरक्षण समितिका अनुसार हरेक दिन साँझ ७ बजेदेखि १२ दिनसम्म यो नाच नियमित रूपमा सञ्चालन गरिनेछ र यसका लागि आवश्यक तयारी भइरहेको छ।

भगवान् विष्णुका १७ कथामा आधारित रहेर प्रत्येक दिन फरक-फरक लीला प्रस्तुत गरिने यो परम्परा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण तथा जनतालाई भय र त्रासबाट मुक्त गराउन विसं १६९७ (नेपाल संवत् ७६१) मा सुरु गरेका थिए।

यसका सर्जक तथा प्रवर्तक राजा सिद्धिनरसिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय मानिन्छन्। सुरुमा पाँच दिन मात्र प्रदर्शन गरिएको यो नाचमा सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ (लोक नाटक), ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन पुर्‍याएका थिए।

धार्मिक तथा तान्त्रिक महत्त्व बोकेको यो नाच नेवार समुदायमा जातीय सद्भाव र समावेशी संस्कृतिको बलियो प्रतीक बनेको छ। कुनै समय २७ दिनसम्म सञ्चालन भएर संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको यो नाच मल्लकालमा मैथिली भाषामा प्रस्तुत गरिन्थ्यो, तर पछि स्थानीयले बुझ्न सजिलो होस् भनेर यसलाई नेपाल भाषामा अनुवाद गर्न थालियो।

ऐतिहासिक रूपमा विसं २००७ को राजनीतिक परिवर्तनपछि यो नाच केही दिनमा खुम्चियो भने विसं २००८ देखि २०३७ सम्म वराह र नरसिंह अवतार समेटेर दुई दिन मात्र प्रदर्शन गरियो। पछि २०३८ देखि २०६० सम्म आठ दिन, २०७० मा वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन तथा २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन गरिएको थियो।

हाल आर्थिक अभाव, अभ्यासका लागि पर्याप्त समयको कमी तथा कलाकारको अभावका कारण यसलाई १० देखि १२ दिनमा सीमित गर्नुपरेको छ। कलाकारलाई उचित पारिश्रमिक दिन नसक्नु, युवा पुस्ताको वैदेशिक पलायन, भाषागत ज्ञानको कमी र सरकारी तहबाट पर्याप्त सहयोग नहुनु यस नाचका प्रमुख चुनौती बनेका छन्।

यी समस्या समाधान गर्दै नाचलाई दीर्घकालीन रूपमा निरन्तरता दिन संरक्षण समितिले १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने, कलाकारलाई व्यावसायिक बनाउने तथा नयाँ पुस्तालाई भाषागत तालिम दिने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij