Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

चितवन राइनोजले गैँडा संरक्षणमा लगाउने भयो सामग्री बिक्रीको ५ प्रतिशत रकम

चितवन राइनोजले गैँडा संरक्षणमा लगाउने भयो सामग्री बिक्रीको ५ प्रतिशत रकम

काठमाडौँ :  दुर्लभ एकसिङ्गे गैँडाका लागि प्रख्यात चितवनको क्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान पुर्‍याउने घोषणा गरेको छ। क्लबले आफ्ना ‘टिसर्ट’ लगायतका आधिकारिक सामग्री बिक्रीबाट प्राप्त हुने रकमको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने निर्णय गरेको हो।


चितवन राइनोज स्पोर्ट्स क्लबका अध्यक्ष आयुष न्यौपानेले क्लबको नाम नै गैँडासँग जोडिएकाले खेलको माध्यमबाट चितवन र एकसिङ्गे गैँडालाई विश्वसामु चिनाउनुका साथै यसको संरक्षणमा पनि प्रत्यक्ष योगदान दिन लागिएको बताए। चितवन मेडिकल कलेजको भगिनी संस्थाका रूपमा रहेको यस क्लबले एकसिङ्गे गैँडाको तस्बिर प्रयोग गरी संरक्षणको सन्देश प्रवाह गर्दै आएको छ।

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा चौथो र दोस्रो संस्करणमा सातौँ स्थान हासिल गरेको चितवन राइनोज यसपटक तेस्रो संस्करणमा उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको क्लबका निर्देशक प्रताप देवकोटाले बताए। चितवन राइनोजको समर्थनमा चितवनका वीरेन्द्र क्याम्पस चौर, विशाल चोक, दीपेन्द्र चोकस्थित चितवन स्पाइसी हर्बलगायतका स्थानहरूमा खेलको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ। निर्देशक देवकोटाका अनुसार क्लबले भोटेकोशी बाढीप्रभावितहरूलाई सहयोग गर्नुका साथै स्थानीय क्लबहरू र साङ्गीतिक कार्यक्रमहरूमा सहकार्य गर्दै आएको छ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले देशका आठ वटा क्लबमध्ये चितवनको नाममा स्थापित यो क्लब जिल्लाका लागि गौरवको विषय भएको र यसले आम जनसमुदायलाई खेलप्रति आकर्षित गर्न सहयोग पुर्‍याउने बताए। हाल चितवनका होटल, रेस्टुरेन्ट र सार्वजनिक स्थलहरूमा चितवन राइनोजको लोगो अङ्कित झण्डा फहराइएको छ भने खेलप्रेमीहरूमा उत्साह देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट