काठमाडौँ : बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा गोली चल्दा गम्भीर घाइते भएका आदित्य पासवानको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार जारी छ । झडपमा गोली चल्दा घाइते भएका पासवानको हाल आइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए । अस्पतालका अनुसार उनको अवस्था स्थिर छ ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले आज बिहान ११:४० मा हेलिमार्फत काठमाडौँ पठाइएको बताए । उनले रातोपाटीसँग भने, "उहाँलाई कम्मरको नजिकै गोली लागेको थियो गोली झिक्ने काम भयो । उपचार भइरहेको छ। " सङ्घीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो ।
गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो । अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबिच विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij