Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

खेलकुदले पर्यटन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ : मन्त्री तामाङ

खेलकुदले पर्यटन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ : मन्त्री तामाङ

चितवन :  बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले खेलकुदले स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउनुका साथै स्थानीय क्षेत्रको व्यापार, व्यवसाय र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–२७ स्थित हात्तीपोलो मैदानमा आयोजित प्रथम मेघौली सदाबहार राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री तामाङले खेलकुदलाई केवल मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा मात्र लिन नहुने बताउनुभएको हो ।

उहाँले खेलकुदले समाजमा सकारात्मक सोच, अनुशासन, एकता र स्वस्थ जीवनशैलीको विकास गर्ने उल्लेख गर्नुभयो । मन्त्री तामाङले खेलकुद प्रतियोगिताले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउनुका साथै पर्यटकीय क्षेत्रको पहिचान र प्रचारप्रसारमा समेत सहयोग पुर्‍याउने बताउनुभयो । खेलकुदका माध्यमबाट विभिन्न स्थानका खेलाडी, दर्शक तथा खेलप्रेमीलाई एउटै स्थानमा भेला गराउन सकिने भएकाले यसले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य व्यवसायलाई समेत चलायमान बनाउने उहाँको भनाइ थियो ।

WhatsApp-Image-2026-11-07-at-6.01.25-PM.jpeg
undefined

मन्त्री तामाङले स्थानीय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान र विकास गर्न सहयोग पुग्ने बताउँदै खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्य गर्दै जाने धारणा व्यक्त गर्नुभयो ।

प्रतियोगिताको फाइनल खेलमा भरतपुर महानगरपालिका–१८ को टोली प्रथम भएको छ भने माडी युनाइटेड क्लब दोस्रो भएको छ । प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई मन्त्री तामाङसहित अतिथिहरूले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा पूर्वप्रदेशसभा सदस्य कृष्ण भुर्तेल, भरतपुर महानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, आयोजक तथा खेलकुद क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

स्थानीय क्षेत्रका खेलप्रेमीको उल्लेख्य सहभागिता रहेको प्रतियोगिताले मेघौली क्षेत्रको खेलकुद गतिविधिलाई थप उत्साहित बनाउनुका साथै क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन् ।

प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको मेघौलीमा फुटबल प्रतियोगिता आयोजना हुनुले यस क्षेत्रलाई खेल पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट