काठमाडौँ : नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आजबाट हुने दुई दिने भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, समानता र राष्ट्रिय हितका आधारमा अघि बढाउने अपेक्षा गरिएको बताएको छ ।एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले भ्रमणको पूर्वसन्ध्यामा यस्ता महत्त्वपूर्ण भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल र परामर्श गर्नु तथा राष्ट्रपतिसँग संवाद गर्नु लोकतान्त्रिक अभ्यास र संस्थागत मर्यादाका दृष्टिले महत्त्वपूर्ण हुने भए पनि त्यसो नगरिएकोमा गुनासो गरेका छन् ।
‘यसले राष्ट्रिय चासोका विषयमा साझा धारणा बनाउन र विदेशमा नेपालको आवाज थप सशक्त बनाउन सहयोग पुर्याउँछ तर त्यसो गरिएन’, प्रचार विभाग प्रमुख आचार्यले भ्रमणका क्रममा सीमा तथा भूभागसम्बन्धी विषयमा नेपालको स्थापित अडान, ऐतिहासिक प्रमाण र राष्ट्रिय सहमतिअनुरूप स्पष्ट तथा जिम्मेवार प्रस्तुति रहने अपेक्षा लिएको जनाएका छन् । ‘मित्रवत् सम्बन्धलाई सुदृढ बनाउँदै आफ्ना चासो दृढतापूर्वक राख्न सक्नु नै प्रभावकारी कूटनीति हो । देशको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई स्मरण होस् । नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुपर्ने परिस्थिति नआओस्, लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला’, आचार्यले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै भनेका छन् ।
उनले घोषणापत्रमा उल्लेख गरिएका रोजगारीका सपना, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितका प्रतिबद्धता केवल भाषण र प्रचारका विषय नबनुन् समेत भनेका छन् । ‘यहाँको भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबिच विश्वास बढाओस् र नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस आधार तयार गरोस्’ एमाले प्रचार विभाग प्रमुख आचार्यले भनेका छन् ।आचार्यले प्रधानमन्त्री फर्किएपछि भ्रमणका उपलब्धि र समझदारीबारे संसद् तथा जनतालाई जानकारी गराउनुहुने अपेक्षासहित सफल र फलदायी यात्राको शुभकामना दिएका छन् । प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार फर्किने गरी आज भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij