धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन् ।जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ धनकुटाले दूध उत्पादन लागत बढेको तर किसानले पाउने मूल्य नबढेको भन्दै मूल्य समायोजन गर्न माग गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नारद कटुवालले हाल किसानले प्रतिलिटर ५० देखि ५५ रुपैयाँ मात्र पाउँदै आएको बताउँदै उक्त मूल्य बढाएर कम्तीमा ८० रुपैयाँ पुर्याउनुपर्ने माग गरे ।
उनका अनुसार दाना, चोकरलगायत पशु आहार तथा औषधोपचारको खर्च बढ्दा दूध उत्पादन लागत प्रतिलिटर करिब ६५ रुपैयाँ पुगेको छ । विगत तीन–चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको उनले बताए ।
बजारमा उपभोक्ताले दूधको मूल्य बढी तिर्नुपरे पनि किसानले पाउने मूल्य नबढ्दा दुग्ध उत्पादक मारमा परेको सङ्घको भनाइ छ । महालक्ष्मी नगरपालिका–२ की कृषक कृष्णमाया कटुवालले किसानले उत्पादन गरेको दूध प्रतिलिटर ५० देखि ५५ रुपैयाँमा बिक्री गर्नुपरेको तर उपभोक्ताले बजारमा प्रतिलिटर १२० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको बताइन् । दूधको मूल्य नबढ्दा पशु आहार, औषधोपचार र अन्य व्यवस्थापन खर्च धान्न कठिन भएको उनले बताइन् ।
सङ्घका अनुसार धनकुटामा करिब ४० हजार किसान दुग्ध उत्पादनमा आबद्ध छन् । जिल्लामा दैनिक करिब ३० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये दुग्ध विकास संस्थानले दैनिक करिब १० हजार लिटर खरिद गर्दै आएको छ । कामधेनु, जीवन विकासलगायत निजी डेरी तथा अन्य संस्थाले पनि दूध सङ्कलन गर्दै आएका छन् । जिल्लाका २७ दुग्ध उत्पादक सहकारी संस्था तथा दूध सङ्कलन केन्द्रमार्फत किसानले दूध बिक्री गर्दै आएका छन् ।
किसानले दुग्ध विकास संस्थानबाट भदौ १५ गतेदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार धनकुटाका किसानले संस्थानबाट करिब डेढ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
सङ्घले मङ्सिर १५ गतेसम्म दूधको मूल्य वृद्धि नभए मङ्सिर १६ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ । माग सम्बोधन नभए गाईवस्तुसहित सडकमा उत्रिएर चक्काजाम गर्ने र उत्पादित दूध बजारमा नपठाई भण्डारण गर्ने अध्यक्ष कटुवालले बताए ।
सरकारले पटकपटक दूधको मूल्य वृद्धि गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरेको सङ्घको आरोप छ । किसानले उत्पादन लागतका आधारमा दूधको मूल्य निर्धारण गरी दुग्ध उत्पादकलाई राहत दिन सरकारसँग माग गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij