Logo

Nov 25 2026 | २०८३, मंसिर १०गते

एनपीएल च्याम्पियन सुदूरपश्चिम रोयल्सले नौ जिल्लामा ट्रफी टूर गर्ने, मंसिर १३ देखि २० गतेसम्म कार्यक्रम

एनपीएल च्याम्पियन सुदूरपश्चिम रोयल्सले नौ जिल्लामा ट्रफी टूर गर्ने, मंसिर १३ देखि २० गतेसम्म कार्यक्रम

काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर आयोजना गर्ने भएको छ। रोयल्सले मंसिर १३ देखि २० गतेसम्म ट्रफीलाई सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा पुर्‍याउने कार्यक्रम तय गरेको छ। उपाधि जितको खुसी समर्थक र स्थानीय समुदायसँग बाँड्ने उद्देश्यले ट्रफी टूर गर्न लागिएको टोलीले जनाएको छ।

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्‍याउन लागिएको बताए। ट्रफी टूरमार्फत समर्थकलाई उपाधिको खुसीमा सहभागी गराउनुका साथै विभिन्न स्थानमा र्‍याली र ट्रफी प्रदर्शन गरिने छ।

काठमाडाैँ – ट्रफी टूर मंसिर १३ गते अछाम र बाजुराबाट सुरु हुनेछ। बिहान ८:३० बजे बैजनाथ मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ। त्यसपछि बिहान ९:३० देखि ११:३० बजेसम्म बैजनाथ मन्दिरबाट साँफेबगरसम्म र्‍याली हुनेछ। दिउँसो ४ देखि ५ बजेसम्म बाजुराको मार्तडीमा र्‍याली आयोजना हुनेछ।

मंसिर १४ गते डोटी र डडेल्धुरामा कार्यक्रम हुनेछ। बिहान ९ बजे शैलेश्वरी मन्दिरमा ट्रफी पुर्‍याइनेछ भने १० देखि १२ बजेसम्म शैलेश्वरी मन्दिरबाट दिपायल बजारसम्म र्‍याली हुनेछ। दिउँसो ४ देखि ६ बजेसम्म डडेल्धुरा बजारमा र्‍याली गरिनेछ। साँझ ६:३० बजे उग्रतारा मन्दिरमा पूजा गर्ने कार्यक्रम छ।

मंसिर १५ गते बैतडी र १६ गते दार्चुलामा ट्रफी टूर हुनेछ। बैतडीमा बिहान ८:३० बजे निङ्गलाशैनी मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ। त्यसपछि ९:३० देखि ११:३० बजेसम्म गोठलापानीमा र्‍याली हुनेछ। मंसिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिरमा बिहान ८:३० बजे ट्रफी पुर्‍याइनेछ भने ९:३० देखि ११:३० बजेसम्म खलंगा बजारमा र्‍याली हुनेछ।
मंसिर १७ गते बझाङको चैनपुर बजारमा बिहान ८:३० देखि १०:३० बजेसम्म र्‍याली आयोजना हुनेछ। मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा दिउँसो १२:३० बजे ट्रफी पुर्‍याइने कार्यक्रम छ।

मंसिर १९ गते कैलालीको टीकापुर पार्कमा बिहान ८:३० बजे ट्रफी प्रदर्शन गरिनेछ। त्यसपछि बिहान १० बजे चिसापानी, ११:३० बजे लम्की, १२:३० बजे घोडाघोडी ताल र दिउँसो २ बजे अत्तरियामा ट्रफी पुर्‍याइनेछ। दिउँसो ४ देखि ६ बजेसम्म महेन्द्रनगर बजारबाट दोधारा चाँदनी पुलसम्म र्‍याली हुनेछ।

ट्रफी टूरको अन्तिम दिन मंसिर २० गते धनगढीमा कार्यक्रम हुनेछ। दिउँसो ३ देखि ५ बजेसम्म चौराहाबाट महोत्सव मैदानसम्म र्‍याली आयोजना गरिनेछ। साँझ ५ बजे महोत्सव मैदानमा सांगीतिक कार्यक्रमसहित ट्रफी टूर समापन हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट