जनकपुरधाम : धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवाना तोकेलगतै फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी टोलीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनीहरूलाई खोजतलास गरी पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये तीन जना ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी हुन् । उनीहरूलाई अदालतले जनही १० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
त्यस्तै, लागुऔषध मुद्दामा एक वर्ष ८ महिना कैद र १२ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका एक जना तथा सवारी अङ्गभङ्ग मुद्दामा एक वर्ष कैद र २२ हजार रुपैयाँ जरिवाना सजाय पाएका अर्का एक जना पक्राउ परेका छन् । पाँचै जनालाई आज बुधवार पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका पाँचै जनाको कुल जरिवाना ६४ हजार रुपैयाँ रहेको छ भने दुई जनालाई कुल २ वर्ष ८ महिना कैद सजाय तोकिएको थियो । ज्यान मार्ने उद्योगका तीन जनालाई भने कैद सजाय तोकिएको थिएन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij