काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी सबै विधाको पहिचान, प्रतिनिधित्व र पेसागत सम्मान सुनिश्चित हुने गरी आयुर्वेद परिषद् ऐन संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएकी छन् ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी विभिन्न विधाका प्रतिनिधि तथा सरोकारवालासँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री मेहताले सबै विधाका समस्या सम्बोधन हुने र सबैको प्रतिनिधित्व सुनिश्चित हुने गरी अघि बढ्नुपर्ने धारणा राखेकी हुन् ।
छलफलमा आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर तथा चाइनिज मेडिसिनलगायत विधाका प्रतिनिधिहरूले आ–आफ्नो विधाको पहिचान, पेसागत सुरक्षा र परिषद्मा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने धारणा राखेका थिए । उनीहरूले दर्ता, नियमन तथा सरकारी सेवामा समावेश हुने विषयमा भोग्दै आएका समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए।
छलफलका क्रममा सबै विधालाई एउटै परिषद्मा समेटेर अघि बढाउँदा स्रोत साधनको मितव्ययिता र नियमनमा सहजता हुने धारणा व्यक्त भएको थियो । साथै, परिषद्को नाम, संरचना, नेतृत्व तथा निर्णय प्रक्रियामा सबै विधाको पहिचान र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने विषय उठाइएको थियो।
छलफलमा आयुर्वेद परिषद्का अध्यक्ष डा.सिद्धार्थ ठाकुरले सरोकारवालासँगको छलफलबाट प्राप्त सुझाव समेटेर ऐन संशोधनको प्रस्ताव तयार गर्ने जानकारी दिएका थिए।
छलफलमा सबै विधाको अस्तित्व र सहअस्तित्व स्वीकार गर्दै पहिचान, प्रतिनिधित्व तथा पेसागत समस्याको समाधानका लागि साझा समझदारी कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij