रत्ननगर : रत्ननगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले विकास निर्माण, सेवा प्रवाह र नगर व्यवस्थापनका विषयमा गुनासैगुनासा राखेका छन्। नगरमा अपेक्षाअनुसार काम हुन नसकेको, प्रतिबद्धता धेरै तर कार्यान्वयन कम भएको भन्दै सहभागीहरूले जनप्रतिनिधि र कर्मचारीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। कतिपय सहभागीले नगरपालिकामा कामभन्दा गफ बढी हुने गरेको आरोपसमेत लगाएका छन्।
रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले सडक, ढल, फोहोर व्यवस्थापन, पार्किङ, सार्वजनिक शौचालय, शिक्षा, कृषि तथा प्रशासनिक सेवा प्रवाहका विषयमा आफ्ना असन्तुष्टि र सुझाव राखेका हुन्। साउनदेखि कात्तिक मसान्तसम्म नगरपालिकाले गरेका कामकारबाहीको समीक्षा तथा आगामी योजनाका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
सुनुवाइमा सबैभन्दा बढी उठेका विषयमध्ये सार्वजनिक शौचालय, फोहोर व्यवस्थापन र नगरको सरसफाइ पनि प्रमुख रहे। पर्यटनको केन्द्रका रूपमा परिचित रत्ननगरमा पर्यटक तथा सर्वसाधारणले सहज रूपमा प्रयोग गर्न सक्ने सार्वजनिक शौचालयको अभाव रहेको भन्दै सहभागीहरूले नगरपालिकाको ध्यानाकर्षण गराए। पर्यटन व्यवसायीले सार्वजनिक शौचालयको व्यवस्था गर्न नगरपालिकालाई निर्देशनात्मक सुझाव दिँदै आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ नगर्न आग्रह गरेका थिए। पर्यटन क्षेत्रको विकासको चर्चा गर्ने तर पर्यटकलाई आधारभूत सुविधा दिन नसक्ने अवस्था अन्त्य हुनुपर्ने उनीहरूको भनाइ थियो।
त्यस्तै, सडक तथा ढल निर्माणमा देखिएका समस्या, अव्यवस्थित पार्किङ, फोहोर व्यवस्थापन, सार्वजनिक स्थानको सरसफाइ र नगरमा डिजिटल सूचना बोर्डको आवश्यकता औँल्याइएको थियो। नगरको विकासका योजना बनाउने मात्र नभई ती योजनाको प्रभावकारी कार्यान्वयन र नियमित अनुगमन गर्नुपर्ने सहभागीहरूको जोड थियो।
शिक्षा क्षेत्रको विषयले पनि सार्वजनिक सुनुवाइमा प्राथमिकता पाएको थियो। विद्यालयको शैक्षिक गुणस्तर सुधार, छात्रवृत्ति वितरणमा पारदर्शिता, विद्यालयको नियमित अनुगमन तथा मन्टेश्वरी सञ्चालनसम्बन्धी स्पष्ट कार्यविधि बनाउन नगरपालिकालाई सुझाव दिइएको थियो। यसैगरी व्यवसाय दर्ता प्रक्रिया सहज बनाउन, दृष्टिविहीन व्यक्तिका लागि रोजगारीको अवसर सिर्जना गर्न तथा किसानले भोग्दै आएका समस्या समाधान गर्न पनि माग गरिएको थियो।
सुनुवाइका क्रममा घनश्याम उपाध्याय, गोविन्द विश्वकर्मा, बाबुलाल महतो, सङ्कल्प अर्याल, कोषराज दाहाल, चोकबहादुर गुरुङ, दीपक थापा, शम्भुभक्त थपलिया, गोविन्द पोखरेललगायतले नगरको शैक्षिक, भौतिक, आर्थिक तथा कृषि क्षेत्रका समस्याबारे प्रश्न र सुझाव राखेका थिए।
नगरवासीका गुनासा सुनेपछि नगरप्रमुख प्रलाद सापकोटाले भने अन्य पालिकाको तुलनामा रत्ननगरमा स्वास्थ्य, शिक्षा, खेलकुद र पूर्वाधार विकासका काम तीव्र गतिमा भइरहेको दाबी गरे।
कार्यक्रममा सहभागीले उठाएका जिज्ञासा र गुनासाको जवाफ उपप्रमुख यादवप्रसाद पाठक, नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले तथा कृषि तथा पशुपक्षी शाखाका प्रमुख प्रविन लामाले दिएका थिए।
यसै अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म नगरपालिकाबाट सम्पादन भएका प्रशासनिक सेवा, राजस्व सङ्कलन तथा चालू र पुँजीगत खर्चको विवरण प्रस्तुत गरेका थिए। उनका अनुसार चालू आर्थिक वर्षमा १८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा प्रथम चौमासिकसम्म ३६ प्रतिशत राजस्व सङ्कलन भएको छ। राजस्व सङ्कलनमा ‘सूत्र’ प्रणाली प्रयोग भइरहेको जानकारीसमेत उनले दिए।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत समितिका पदाधिकारी, शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। पत्रकार केदार शर्माले सहजीकरण तथा सञ्चालन गरेको सार्वजनिक सुनुवाइमा नगरवासीले उठाएका प्रश्न र सुझावको प्रभावकारी कार्यान्वयन अब नगरपालिकाका लागि मुख्य चुनौती बनेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij