Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

उपसभापतिबाट हटाइएपछि थापा भन्छन्, ‘ममाथि राजनीतिक षड्यन्त्र भयो’

उपसभापतिबाट हटाइएपछि थापा भन्छन्, ‘ममाथि राजनीतिक षड्यन्त्र भयो’

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको जिल्ला उपसभापति पदबाट हटाइएपछि टाकाराज थापा (सुरेश) ले आफूमाथि राजनीतिक षड्यन्त्र भएको बताएका छन् । कारबाहीपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै उनले विनाकारण षड्यन्त्रपूर्ण ढङ्गले आफूलाई कारबाही गरिएको दाबी गरेका हुन् ।सामाजिक सञ्जालमा थापाले केही स्वार्थ बोकेका व्यक्तिहरूले आफ्नो इमान्दारिता गिराउने, नैतिकताको हत्या गर्ने र चरित्रमा दाग लगाउने प्रयास गरेको आरोप लगाएका छन् । आफू महादेवको भक्त भएको र जबर्जस्ती पिलाइएको विष कण्ठमा राख्ने क्षमता आफूसँग रहेको उनको भनाइ छ ।

‘सबैलाई थाहा छ नखाएको विष लाग्दैन भन्ने । तर मलाई पटकपटक केही स्वार्थ बोकेका फटाहाहरूले जबर्जस्ती विष पिलाउन नखोजेका होइनन् र अहिले त्यो तिमीहरूले मलाई जबर्जस्ती विष पिलाई मेरो नैतिकता नै हत्या गर्न सफल भएका छौ । म महादेव (शिव) को भक्त हुँ । तिमीहरूले जबर्जस्ती पिलाएको विष कण्ठमा राख्ने क्षमता छ । पेटमा गएको छैन । यो कलियुग हो मेरो नैतिकता नै हत्या गर्ने विष एक दिन तिमीहरूको पेटमा छिट्टै पुग्नेछ भन्ने आशा लिएको छु । अन्त्यमा : सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा म फेरि पनि भन्छु, मैले विष खाएको छैन । यो त मेरो इमान्दारिता गिराउने, नैतिकता हत्या गर्ने र मेरो चरित्रमा दाग लगाउने केही फटाहाहरूको राजनीतिक ठूलो षड्यन्त्र मात्र हो’, उनले लेखेका छन् ।

मकवानपुर जिल्ला समितिले कारबाहीका लागि सिफारिस गरेपछि रास्वपाको बागमती प्रदेश समितिले थापालाई जिल्ला उपसभापतिको जिम्मेवारीबाट हटाएको थियो । गत जेठमा हेटौँडामा सम्पन्न रास्वपा मकवानपुरको पहिलो जिल्ला अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थापा ६ महिना नपुग्दै पदमुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट