Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

‘६५ प्रतिशत वाचा पूरा गरेँ, अधुरा योजना सक्न फेरि चुनाव लड्छु’ : नागेश कोइराला

‘६५ प्रतिशत वाचा पूरा गरेँ, अधुरा योजना सक्न फेरि चुनाव लड्छु’ : नागेश कोइराला

विराटनगर : नेपालको ऐतिहासिक, औद्योगिक र राजनीतिक चेतनाको केन्द्र मानिने विराटनगर महानगरपालिकाको नेतृत्व सम्हालेको झन्डै पाँच वर्ष पूरा हुन लाग्दा नगर प्रमुख (मेयर) नागेश कोइरालाको कार्यकालको समीक्षा भइरहेको छ।२०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएर महानगरको बागडोर सम्हाल्दा उनले जारी गरेको ‘श्वेतपत्र’ ले विराटनगरका जटिल समस्याहरूको चाङ देखाएको थियो। तर ती समस्याहरू छिचोल्न उनले कति प्रयास गरे? चुनावमा उनले गरेका वाचाहरू कति पूरा भए? भन्ने प्रश्न कायमै छ।पछिल्लो चार–पाँच वर्षको अवधिमा विराटनगरले सुशासन र कार्यसम्पादन मूल्याङ्कनमा देशका ६ वटै महानगरपालिकामध्ये पहिलो स्थान हासिल गर्न सफल भयो। तर, आन्तरिक आयको अनुपात (रेसियो) उस्तै रह्यो, बेरुजु न्यूनीकरण उल्लेख्य देखिँदैन र केही सामुदायिक विद्यालयमा सुधार भए पनि त्यो पर्याप्त भएन भन्ने टिप्पणी पनि छ।

यद्यपि, उनकै पालामा नेपालकै पहिलो सरकारी स्तरको निःशुल्क ‘अटिजम सेवा केन्द्र’ सञ्चालन भयो भने जाइकाको सहयोगमा बृहत् खानेपानी विस्तार आयोजना अघि बढ्यो। अर्कोतर्फ, सडक पार्किङ व्यवस्थापन, गुट्खा प्रतिबन्ध र नगर बस सञ्चालनजस्ता कतिपय विषयमा उनी पछि हटेको आरोप पनि लाग्ने गरेको छ। यिनै समसामयिक विषय र कार्यकालको लेखाजोखाबारे मेयर नागेश कोइरालासँग गरिएको विस्तृत अन्तर्वार्ता:

विराटनगर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको पाँचवर्षे कार्यकालको लगभग अन्तिम चरणमा हुनुहुन्छ। निर्वाचनका बेला गर्नुभएका प्रतिबद्धता कति पूरा भए र कति बाँकी छन्?
– मलाई लाग्छ, त्यतिबेला जारी गरिएका प्रतिबद्धताहरूमा केही ‘अवैज्ञानिक’ कुराहरू पनि परेका थिए। त्यो सङ्कल्पपत्र मैले एक्लै बनाएको भन्दा पनि मेरो पार्टी नेपाली कांग्रेसको तर्फबाट मेरो उम्मेदवारीका लागि तयार पारिएको थियो। अर्को कुरा, महानगरपालिका चलाउँदा कस्तो हुँदो रहेछ भने, कार्यपालिकामा आफ्नै पार्टीको मात्र बहुमत र जनप्रतिनिधिहरू निर्वाचित भएर आएको भए काम गर्ने वातावरण अर्कै बन्थ्यो होला। तर, हामी अल्पमतमा परेर सबैसँग सम्झौता र समन्वय गर्दै काम अगाडि बढाउनुपर्दा केही कठिनाइ पक्कै आयो। यद्यपि, घोषणापत्रमा लेखिएका सबै कुरा शतप्रतिशत नभए पनि कम्तीमा ६० देखि ६५ प्रतिशत काम भने पूरा भएको छ भन्ने मलाई लाग्छ।


त्यतिबेला तपाईंले ३० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा पनि गर्नुभएको थियो नि?
– हो, मैले ३० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिने भनेको थिएँ। ३० युनिटभन्दा बढी खपत गर्नेलाई नदिने भन्ने हाम्रो नीति थियो। तर, ३० युनिटसम्म मात्र विद्युत् खपत गर्ने कोही पनि नागरिक दाबी (क्लेम) गर्न नआएका कारण त्यो कार्यान्वयनमा नदेखिएको हो। यद्यपि, हाम्रो त्यो योजना (स्किम) अहिले पनि खुला नै छ। कोही ३० युनिटसम्म मात्र बिजुली खपत गर्ने नागरिक आउनुहुन्छ भने हामीले हिजो दिएको वचनअनुसार आज पनि सेवा दिन तयार छौँ, त्यसमा कुनै समस्या छैन।

निर्वाचित हुनुअघि र पछि पनि ‘करको दर होइन, दायरा बढाउँछु’ भन्नुभएको थियो। तपाईं आउँदा र अहिले महानगरको आन्तरिक आयको अवस्था कस्तो छ?
– म महानगरपालिकाको प्रमुखका रूपमा कार्यभार सम्हाल्न आउँदा विराटनगरको आन्तरिक आम्दानी ४९ करोड रुपैयाँ मात्र थियो। हामीले त्यसलाई बढाएर ६३ देखि ६५ करोड रुपैयाँसम्म पुर्‍याउन सफल भयौँ। यसका लागि हामीले धेरै अभियान चलाउनुपर्‍यो र करको दायरा फराकिलो बनायौँ। करको मूल्याङ्कन अलिकति बढाउँदा कसै–कसैलाई अप्रिय पनि लाग्यो होला, तर समग्रमा हामीले राम्रै नतिजा हासिल गरेका छौँ। अघिल्लो वर्ष हामी ६५ करोडको लक्ष्य लिएर अघि बढेका थियौँ। यस वर्ष पनि गत वर्षको यही अवधिको तुलनामा हाम्रो आम्दानी ५–६ करोड रुपैयाँले वृद्धि भएको छ। यसले के देखाउँछ भने महानगरको आन्तरिक आम्दानी बढाउने जुन उद्देश्य लिएर हामी हिँडेका थियौँ, त्यो सही दिशामा छ र लक्ष्य हासिल गर्दै अगाडि बढिरहेका छौँ।

निर्वाचित हुनासाथ तपाईंले ‘श्वेतपत्र’ जारी गरेर विगतका समस्याहरूको चाङ देखाउनुभएको थियो–कर्मचारीको अनावश्यक नियुक्ति, सुशासनको अभाव, पार्किङ र फोहोर व्यवस्थापन आदि। तर, ती कमजोरी सुध्रिएको अनुभूति जनताले गर्न पाएनन् भन्ने टिप्पणी छ नि?
– यो एकदमै सही र महत्त्वपूर्ण प्रश्न हो। सुशासनको कुरा गर्नुहुन्छ भने हामीले उल्लेख्य काम गरेका छौँ। बेरुजु न्यूनीकरण र प्रविधिमैत्री सेवा विस्तारमा हामीले विशेष जोड दियौँ। त्यसैको नतिजास्वरूप गत वर्षको कार्यसम्पादन र वित्तीय मूल्याङ्कनमा देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर पहिलो नम्बरमा आउन सफल भयो। यो वर्ष आगलागीका कारण हाम्रा कतिपय दस्तावेजहरू जलेकाले हामी मूल्याङ्कन प्रक्रियामा सहभागी हुन सकेनौँ, तर अघिल्लो वर्षसम्म त विराटनगर सबै महानगर र पालिकाहरूमध्ये अब्बल साबित भएकै हो। यदि सुशासन नभएको भए त्यो उपलब्धि हामीले पाउँदै पाउँदैनथ्यौँ।यति हुँदाहुँदै पनि मैले सोचेजस्तो वा भनेजस्तो सबै कुरा बाहिरबाट नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी नभएको हुन सक्छ, त्यो म स्वीकार गर्छु। यद्यपि, आन्तरिक व्यवस्थापन र सुशासनको पाटोमा महानगरलाई एक नम्बर बनाउन हामी सफल भएकै हौँ।

सडकको पार्किङ हटाउने अभियान चाल्नुभयो, पछि फेरि सडकमै पार्किङ खुला गरियो। त्यस्तै, सुर्ती–गुट्खा प्रतिबन्ध पनि पछि खुकुलो भयो। किन पछि हट्नुभयो?
– पार्किङको विषयमा एकदमै व्यावहारिक कुरा छ। महानगरपालिकाले नियम र कानुन बनाउन सक्छ, तर त्यसलाई कार्यान्वयन गर्न नगरवासीको ‘अपनत्व’ चाहिन्छ। हामीले सडक पार्किङ हटाउँदा बजार सफा देखियो; तर एकातिर आर्थिक मन्दी छ, अर्कोतिर हाम्रा ग्राहकहरू किनमेलका लागि सीमापारि जोगबनीतिर जाने गर्छन्। बचेखुचेका ग्राहक पनि मोटरसाइकल वा गाडी पार्किङ गर्ने ठाउँ नपाएर बजार नआउने भएपछि व्यापारीहरूबाट धेरै मर्का पर्‍यो भन्ने गुनासो आयो। त्यसैले एक वर्षपछि हामीले व्यापारीहरूलाई सहज होस् र बजार चलायमान बनोस् भन्ने उद्देश्यले पार्किङ खुला गर्‍यौँ। पार्किङ खुला गरेपछि बजार फेरि केही अस्तव्यस्त त देखियो, तर कम्तीमा स्थानीय व्यवसायीको व्यापार चलायमान भएको छ भनेर हामीले चित्त बुझाएका छौँ। जहाँसम्म सुर्ती र गुट्खा प्रतिबन्धको कुरा छ, त्यो हामीले एक–डेढ वर्षसम्म कडाइका साथ कार्यान्वयन गरेकै हौँ। तर, पछि अदालतको आदेशबाटै खुला भएपछि हामी बाध्य हुनुपर्‍यो।

नगर बस (सिटी बस) सञ्चालन गर्ने तपाईंको योजना थियो, त्यो किन कार्यान्वयन हुन सकेन?
– सिटी बस चलाउने कुरा मैले ‘पब्लिक–प्राइभेट पार्टनरसिप’ (पीपीपी) मोडलमा अघि सारेको थिएँ। नगरवासीले तिरेको करको पैसाबाट महानगर आफैँले गाडी किनेर ल्याउने र पछि त्यो थन्किएर राज्यकोष धराशायी हुने काम हामीले गर्न चाहेनौँ। उदाहरणका लागि इटहरीमा सिटी बस किनियो, तर त्यो सफल हुन सकेन। नागरिकले तिरेको कर त विकास निर्माणमा लगाउनुपर्छ। त्यसैले निजी क्षेत्रले लगानी गरेर चलाओस्, महानगरलाई राजस्व पनि देओस् र नागरिकलाई सुविधा पनि होस् भन्ने हाम्रो सोच थियो।हामीले रुट सबै तय गरिसकेका छौँ–कहाँ रोक्ने, कसरी चलाउने भन्ने कार्यविधि तयार छ। एउटा कम्पनी आएर परीक्षण (ट्रायल) समेत गरेको थियो, तर पछि उनीहरू पछि हटे। अहिले पनि मैले ठुला बस सम्भव नभए १२–१५ सिटे विद्युतीय बस वा गल्फ कार्टजस्ता साना सवारी मेन रोडमा चलाउन प्रस्ताव गरेको छु। साथै, यो विषय लगानी बोर्ड र प्रदेश सरकारको क्षेत्राधिकारसँग पनि जोडिएकाले महानगर एक्लैले निर्णय गरेर अगाडि बढाउन प्राविधिक जटिलता भएको हो।

अब शिक्षा क्षेत्रको कुरा गरौँ। तपाईंको कार्यकालमा विराटनगरका सामुदायिक विद्यालयहरूमा सुधार भयो त?
– विराटनगरका सामुदायिक विद्यालयहरूमा पछिल्लो चार वर्षमा आमूल परिवर्तन आएको छ। पहिले राजनीतिक पहुँचका भरमा शिक्षक राख्ने चलन थियो, अहिले शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर योग्य र प्रतिस्पर्धी शिक्षकहरू आउन थालेका छन्। अर्को महत्त्वपूर्ण काम हामीले प्रधानाध्यापक (प्रिन्सिपल) को व्यवस्थापनमा गर्‍यौँ। प्रिन्सिपल भनेको राम्रो शिक्षक मात्र नभएर कुशल व्यवस्थापक पनि हुनुपर्छ।

पहिले विराटनगरमा पोखरिया र आदर्श विद्यालयको मात्र नाम सुनिन्थ्यो। अहिले गएर हेर्नुस्–सत्यनारायण, गोग्राह, जनता मावि, मिल्स मावि, जनपथ, सरस्वती मावि, महेन्द्र र जनप्रियजस्ता विद्यालयहरूको शैक्षिक स्तर कहाँ पुगिसक्यो! आजको दिनमा वर्षेनी २ हजारदेखि २५ सय विद्यार्थी निजी (संस्थागत) विद्यालय छोडेर सामुदायिक विद्यालयमा भर्ना हुन आइरहेका छन्। यो केवल विद्यालय भवनमा रङ्गरोगन गरेर मात्र सम्भव भएको होइन। हामी प्रत्येक एक–दुई महिनामा शिक्षक र विद्यालयको गुणस्तर मूल्याङ्कन गर्छौँ र सोहीअनुसार निर्देशन तथा आवश्यक कदम चाल्छौँ। यसैले सामुदायिक विद्यालयप्रतिको आकर्षण ह्वात्तै बढाएको हो।

स्वास्थ्य क्षेत्रमा के–कस्ता परिवर्तन आए? विशेषगरी नगर अस्पताल र स्वास्थ्यको पहुँचबाहिर रहेका नागरिकले के सुविधा पाए?
– स्वास्थ्य क्षेत्रमा हामीले आधारभूत तहमै सुधार गरेका छौँ। रानी र बैजनाथपुर स्वास्थ्य चौकीलाई नगरस्तरीय अस्पतालका रूपमा स्तरोन्नति गरेका छौँ। १५ शय्याको अस्पताल सञ्चालनका लागि सम्पूर्ण भौतिक तयारी पूरा भइसकेको छ, हामी सङ्घीय स्वास्थ्य मन्त्रालयबाट दरबन्दी स्वीकृतिको पर्खाइमा छौँ। रानी अस्पतालमा विगत तीन–चार वर्षदेखि निःशुल्क फिजियोथेरापी सेवा सञ्चालनमा छ। बजारमा १५ सयदेखि १८ सय रुपैयाँ पर्ने भिडियो एक्सरे र अल्ट्रासाउन्ड सेवा हामीले ५–६ सय रुपैयाँमै उपलब्ध गराएका थियौँ; हाल मेसिन बिग्रिएकाले पुनः खरिद प्रक्रिया अघि बढाएका छौँ।

प्रदेशको प्रयोगशालाभन्दा पनि सस्तो र सहुलियत दरमा सबै खालका परीक्षण हुने ल्याब सेवा भर्खरै सुरु गरेका छौँ। दुईवटा स्थानमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा छन्। यसका साथै, वडाका स्वास्थ्य चौकीहरूमार्फत ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र निःशुल्क औषधि वितरण गर्ने काम भइरहेको छ। यदि कुनै विपन्न बिरामीलाई गम्भीर समस्या पर्‍यो भने महानगरकै एम्बुलेन्स पठाएर कोशी अस्पतालसम्म पुर्‍याउने र निःशुल्क उपचारको प्रबन्ध मिलाउने काम पनि हामीले गरिरहेका छौँ।

खानेपानीको समस्या कति हल भयो?
– खानेपानी आयोजनामा पनि हामीले ऐतिहासिक काम गरेका छौँ। विशेष गरी मेरै पहलमा जापान सरकार (जाइका) को सहयोगमा विशाल खानेपानी ट्याङ्की निर्माण प्रक्रिया अघि बढेको छ। यो परियोजना खासमा अलि अगाडि नै सुरु हुनुपर्ने थियो; तर पोखरामा जाइकाले बनाएको पानी ट्याङ्की अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि स्थानान्तरण र परिमार्जन गर्नुपर्दा विराटनगरको प्रोजेक्ट अन्योलमा परेर रोकिएको थियो। मैले यसबारे जानकारी पाएपछि जाइकाका क्षेत्रीय प्रमुखलाई भेटेर आग्रह गरेँ। उहाँहरू सहमत भएर काम अगाडि बढाउन तयार हुनुभयो, तर त्यसपछि थुप्रै प्राविधिक र प्रशासनिक अड्चनहरू आए।

सडक खन्नुपर्ने भएकाले महानगर मातहतका सडकको अनुमति त मैले तत्कालै दिएँ, तर हुलाकी मार्ग र राजमार्ग खन्नका लागि सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको अनुमति आवश्यक पर्थ्यो। यसका लागि मैले पटक–पटक गरेको पहलले सार्थकता पायो। यस प्रक्रियामा डा. शेखर कोइरालाको पनि अत्यन्तै ठुलो योगदान र सहजीकरण रह्यो। हामीले पानी ट्याङ्की बनाउने जग्गादेखि निर्माण सामग्री राख्ने यार्ड (गोदाम) र विद्युत्को समस्यासम्म समाधान गरिदियौँ। यो सम्झौता सङ्घीय खानेपानी मन्त्रालय र जाइकाबिच भए पनि विराटनगर महानगरपालिकाले ‘उत्प्रेरक’ (क्याटलिस्ट) को भूमिका खेलेर यो बृहत् परियोजना भित्र्याउन सफल भएको हो। यदि मैले अग्रसरता नलिएको भए यो परियोजना विराटनगर आउने थिएन।

तपाईंले आफ्नो कार्यकालमा गरेका कामहरूमध्ये भविष्यमा गर्वका साथ सम्झने सबैभन्दा नजिकको ‘ड्रिम प्रोजेक्ट’ चाहिँ कुन हो?
– मैले सबैभन्दा गर्व गर्ने काम भनेको ‘महानगर अटिजम सेवा केन्द्र’ (अटिजम स्कुल) हो। नेपालभरिमै स्थानीय सरकारको स्तरबाट पूर्ण रूपमा निःशुल्क सञ्चालन गरिएको यो पहिलो अटिजम विद्यालय हो। जसको परिवारमा अटिजम भएका बालबालिका छन्, उनीहरूको पीडा सम्बन्धित अभिभावकलाई मात्र थाहा हुन्छ। त्यस्ता परिवारका लागि यो केन्द्र भगवान्‌सरह बनेको छ। अहिले यहाँ १८ जना बालबालिकाले निःशुल्क शिक्षा र थेरापी पाइरहेका छन्। हामीले महानगरभित्रका मात्र नभई क्षमताले भ्याएसम्म बाहिरका बालबालिकालाई पनि सेवा दिएका छौँ।हाम्रो यो प्रयासलाई सङ्घीय सरकारले पनि उच्च मूल्याङ्कन गरेर ३०–४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। हामीले तिनपैनीमा जग्गासमेत व्यवस्था गरिसकेका छौँ र अब त्यहाँ सुविधासम्पन्न भवन निर्माण गरेर यस सेवालाई अझ विस्तार गर्नेछौँ।

योबाहेक पूर्वाधार विकास, सौन्दर्यीकरण र अन्य सिर्जनात्मक कामहरू के–के गर्नुभयो?
– पूर्वाधार विकासमा हामीले उल्लेख्य काम गरेका छौँ। नहरको सडक कालोपत्रे गर्‍यौँ। विराटनगर आँखा अस्पताल अगाडिको सडक र वडा नं २ को सोमबारे हाट जाने सडकजस्ता २ करोड रुपैयाँभन्दा बढी लागतका दर्जनौँ सडक आन्तरिक स्रोतबाटै निर्माण गरेका छौँ। वीरेन्द्र सभागृह निर्माण सम्पन्न भएको छ। प्रधानमन्त्री पार्कको चाबी महानगरलाई हस्तान्तरण भइसकेको छ, अब टेन्डर प्रक्रियामार्फत त्यसलाई सञ्चालनमा ल्याउँदै छौँ।मण्ठापोखरी, रानीपोखरी, आरतीस्थल र विराट राजाको दरबार क्षेत्रको पोखरी संरक्षण तथा निर्माण गरेका छौँ। ट्राफिक व्यवस्थापनका लागि सहरका पाँच मुख्य चोकमा ट्राफिक लाइट जडान गरिएको छ। ‘उज्यालो विराटनगर’ अभियान पूर्ण रूपमा सफल भएको छ। पहिले राति १२ बजे विराटनगर प्रवेश गर्दा अँध्यारो हुन्थ्यो, आज राजमार्गमा गाडीको हेडलाइट नबालीकन जोगबनी नाकासम्म पुग्न सकिने अवस्था बनेको छ।

सरसफाइमा कति सुधार भयो भन्ने कुरा राधाकृष्ण रथयात्रामा हुने व्यवस्थापनबाटै प्रस्ट हुन्छ। धरान रोड सौन्दर्यीकरणअन्तर्गत व्यवस्थित रूपमा बिरुवा रोपेका छौँ र महानगरको अनुमतिबिना जथाभाबी बिरुवा रोप्न नपाइने नियम पनि बसालेका छौँ। यस्तै, विराटनगरको भाषा, कला, साहित्य र संस्कृति संरक्षण गर्न ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेका छौँ; किनकि भौतिक संरचनाले मात्र सहर समृद्ध बन्दैन, कला र संस्कृतिको पनि जगेर्ना हुनुपर्छ। अर्को एउटा निकै जनप्रिय काम–हामीले नगर प्रहरीलाई विशेष तालिम दिएर नागरिकको घरभित्र छिरेको सर्प उद्धार गर्ने निःशुल्क सेवा सुरु गरेका छौँ, जसले नागरिकलाई ठुलो राहत दिएको छ।

रोजगारी सिर्जना र गरिबी निवारणका क्षेत्रमा महानगरले के भूमिका खेल्यो?
– म तपाईंलाई नै एउटा प्रश्न सोध्छु–विराटनगरका सडकमा अहिले प्रशस्तै सिटी सफारी (ई–रिक्सा) देखिन्छन्, होइन? यदि हामीले चाहेको भए कडाइ गरेर निश्चित सङ्ख्यामा मात्र चल्न पाउने नियम बनाउन सक्थ्यौँ। तर, त्यसो गर्दा हजारौँ विपन्नको रोजगारी खोसिन्थ्यो। आज सिटी सफारीले हजारौँ नागरिकलाई स्वरोजगार बनाएको छ। छिमेकी पालिकाहरूबाट समेत मानिसहरू यहाँ आएर दिनभरि चलाउँछन् र यहीँ खर्च गर्छन्, जसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ।अर्कोतर्फ, महानगरको रोजगार महाशाखा सक्रिय छ। हामीले वर्षमा एकपटक ‘रोजगार मेला’ आयोजना गर्छौँ र ‘श्रम संसार’ मार्फत बेरोजगार युवालाई रोजगारदातासँग जोडेर नियुक्तिको प्रबन्ध मिलाउँछौँ। विभिन्न व्यावसायिक तथा सीपमूलक तालिमहरू पनि निरन्तर दिइरहेका छौँ। अब तालिम लिएर पनि आफैँ कार्यक्षेत्रमा जाँगर नचलाउने हो भने त कसैले केही गर्न सक्दैन।

अन्तिममा, तपाईं अहिले भन्दै हुनुहुन्छ–पाँचवर्षे कार्यकाल काम गर्नका लागि ज्यादै छोटो हुँदो रहेछ। के तपाईं आगामी निर्वाचनमा फेरि मेयर पदमा लड्ने तयारीमा हुनुहुन्छ?
– हो, म फेरि निर्वाचन लड्छु।

तर, तपाईंको पार्टी नेपाली कांग्रेसभित्रै विभाजन र अन्योल देखिएको चर्चा छ, यस्तो अवस्थामा कसरी चुनाव लड्नुहुन्छ?
– हालै मात्र एउटा पुस्तक सार्वजनिक भयो–‘महानगरपालिकाको १० वर्ष: अनुभव र उपलब्धि’। एउटा पुस्तक लेख्न त १० वर्षको अनुभव चाहिन्छ भने एउटा ऐतिहासिक महानगरको दीर्घकालीन विकासका लागि मलाई पाँच वर्षले कसरी पुग्छ? त्यसैले अधुरा योजनाहरू पूरा गर्न र विराटनगरलाई अझ समृद्धिको उचाइमा पुर्‍याउन अर्को एक कार्यकाल मलाई आवश्यक छ भन्ने मैले महसुस गरेको छु।

तपाईं अहिले कांग्रेसमा सक्रिय हुनुहुन्न भन्ने चर्चा पनि छ। त्यसो भए कुन पार्टी र कुन चुनाव चिह्नबाट निर्वाचन लड्नुहुन्छ?
– चुनाव कसरी र कुन चिह्नबाट लड्ने भन्ने सवालमा–हिजो पनि म विराटनगरवासीकै साझा प्रतिनिधि भएर चुनाव उठेको थिएँ, आगामी दिनमा पनि विराटनगरवासीकै प्रतिनिधिको रूपमा मैदानमा उत्रिन्छु। चुनाव चिह्न जुनसुकै हुन सक्छ। म विराटनगर महानगरवासीको छोरा हुँ, भाइ हुँ, भतिजो हुँ, नाति हुँ। म यही आत्मीय नाता र उहाँहरूको विश्वासकै जगमा फेरि उठ्ने हो। म पछाडि हट्दिनँ, जनताको साथ लिएर मैदानमै उत्रिन्छु।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट