काठमाडौं : आफूलाई प्रहरी निरीक्षक भन्दै मुद्दा नै नचलाई छुटाइदिने प्रलोभन देखाएर दुई लाख रुपैयाँ मागेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्र चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ओखलढुङ्गाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय हर्कसिंह भोलन रहेका छन् ।
प्रहरीका अनुसार गत मङ्सिर १० गते प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिलाई भेट्न पुगेका उनका भाइसँग उनीहरूले प्रहरी निरीक्षक भएको दाबी गर्दै दुई लाख रुपैयाँ मागेका थिए । मुद्दा नचलाई छुटाइदिने भन्दै रकम मागिएको प्रहरीको भनाइ छ । त्यतिमात्रै होइन, उनीहरूले होटलको खर्चसमेत तिर्न लगाएको र रकम दिन अस्वीकार गरेपछि फोन तथा म्यासेजमार्फत विभिन्न धम्की दिएको आरोप छ । यसबाट पीडितलाई मानसिक तथा आर्थिक तनाव परेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij