Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा युवकको शव फेला, मापसेपछि डुबेर मृत्यु भएको प्रारम्भिक अनुमान

सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा युवकको शव फेला, मापसेपछि डुबेर मृत्यु भएको प्रारम्भिक अनुमान

विराटनगर : मोरङको ग्रामथान गाउँपालिका–७ स्थित खद्रा चोक नजिकै रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा एक युवक मृत अवस्थामा फेला परेका छन्।मृतक ग्रामथान–७ का २४ वर्षीय सुमन चौधरी हुन् । स्थानीयले बुधबार बिहान करिब ९ बजेतिर नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय हरैँचाबाट सई नीरबहादुर खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।

चौधरीको शव नहरमा डुबेको अवस्थामा उत्तानो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। त्यसपछि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको हो ।इन्स्पेक्टर खत्रीकै टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानमा घटनामा कुनै शंकास्पद कुरा देखिएको छैन। प्रहरीको प्रारम्भिक अनुमानअनुसार मादक पदार्थ सेवन (मापसे) गरेका चौधरी नहरमा खसेर डुब्दा मृत्यु भएको हुन सक्ने देखिएको छ।

मोरङ प्रहरीका प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीका अनुसार चौधरी मंगलबार दिउँसो गाउँमा लागेको मेला भर्न निस्किएका थिए । साँझसम्म मेला भरेर घर फर्किएको र त्यसपछि राति करिब ९ बजेतिर नजिकैको पसलमा भोला गुट्खा किन्न गएको पत्ता लागेको छ।तर, त्यसपछि उनी बेपत्ता भए। भोलिपल्ट बिहान नहरमा शव फेला परेको हो । चौधरीको मृत्युको स्पष्ट कारण भने हालसम्म नखुलेको र पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि मात्र वास्तविक कारण पत्ता लाग्ने जोशीले बताएका छन् ।‘घटनाको थप अनुसन्धानबाट मृत्युको कारण यकिन हुन्छ,’ जोशीले भने । उनका अनुसार तत्काल हेर्दा घटना शंकास्पद देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट