चितवन : जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत ३ हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ ।
दोहोरो दर्ता भएका, मृत्यु भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिहरूको नाम मतदाता नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार दोहोरो दर्ता भएका एक हजार ९४३ जना, मृत्यु दर्ता भएका एक हजार ३८० जना र नागरिकता परित्याग गरेका ३९ जनाको नाम हटाइएको हो ।
निर्वाचन आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो दर्ता भएको पुष्टि भएका मतदाताको नाम हटाइएको कार्कीले जानकारी दिए । त्यस्तै, भदौ १२ गतेसम्म मृत्यु दर्ता भएका व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालय तथा मृतकका परिवारले कार्यालयमा पेस गरेको मृत्यु प्रमाणपत्रका आधारमा नाम हटाइएको हो ।
नागरिकता परित्याग गरेका व्यक्तिहरूको नाम भने जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा हटाइएको कार्यालय प्रमुख कार्कीले बताए ।
गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला चितवनमा चार लाख ४२ हजार ८२ मतदाता रहेका थिए । फागुन २१ गतेको मतदानपछि जिल्लामा १३ हजार १३४ जना मतदाता थपिएको जनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij