Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

बक्सअफिसको निष्पक्षतामाथि प्रश्न, सूचीबाटै फिल्म गायब

बक्सअफिसको निष्पक्षतामाथि प्रश्न, सूचीबाटै फिल्म गायब

काठमाडौंँ : चलचित्र विकास बोर्डले केही दिन अगाडि सार्वजनिक गरेको वर्ष २०८१ को बक्सअफिस रिपोर्टको निष्पक्षतामाथि प्रश्न खडा भएको छ । उक्त रिपोर्टमा रिलिज भएका केही फिल्मको रिपोर्ट नै गायब भएको हो ।

बोर्डले अघिल्लो साता उपलब्ध गराएको २०८१ को वर्षभरि रिलिज फिल्मको ५९ वटा क्रम संख्याको सूची छ । जसमा गत चैत्र २९ मा रिलिज भएका दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ छैनन् । यी फिल्मबाहेक पनि जारी गरिएका ५९ वटा क्रम संख्याको सूचीमा २ वटा क्रम संख्या, फिल्मको नाम र व्यावसायिक रिपोर्ट नै गायब छन् ।

सूचीमा गायब भएका क्रम संख्या हुन् २८ र ५७ । जहाँ २७ पछि सीधै २९ र ५६ पछि ५८ राखिएको छ । सूचीमा गायब पारिएका क्रमसंख्या २८ फिल्म ‘ज्वाई साब’को हो । किनभने फिल्म ‘छक्का पञ्जा ५’को क्रम संख्या २९, र ‘१२ गाउँको’ क्रमसंख्या ३० छ । ‘ज्वाई साब’, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ गत वर्ष दसैँको अवसर पारेर असोज २४ गतेदेखि एकसाथ प्रदर्शनमा आएका थिए । यसरी एकैसाथ आएका फिल्महरूको क्रम संख्या पनि सँगै राखिने गरिन्छ । जस कारण बक्सअफिसको रिपोर्ट गायब पारिएको फिल्म ‘ज्वाई साब’ नै हो भन्ने ठहर हुन्छ ।

त्यस्तै, ५७ क्रम संख्यामा फिल्म ‘द्रौपदी’ रहेको अनुमान गर्न सकिन्छ । किन भने क्रमसंख्या ५८ मा फिल्म ‘११ः५५’ रहेको छ । ‘द्रौपदी’ र ‘११ः५५’ गत चैत्र ८ गते एक साथ प्रदर्शनमा आएक फिल्म हुन् ।

बक्सअफिस रिपोर्टमा आफ्नो फिल्म गायब भएको विषय आफूलाई थाहा नभएको ‘ज्वाई साब’का निर्देशक बसन्त निरौला बताउँछन् । ‘रिपोर्टमा मेरो फिल्मको नाम र बक्सअफिस रिपोर्ट छैन । यो त आश्चर्य भयो,’ निरौलाले भने, ‘यस विषयमा के भएको रहेछ । म बुझेर बताउँछु ।’

‘द्रौपदी’का निर्देशक ऋषिराज आचार्य पनि आफ्नो फिल्म हटेको विषयमा अनविज्ञ रहेको बताउँछन् । ‘मेरो फिल्म अझै धेरै स्थानमा चल्न बाँकी छ,’ निर्देशक आचार्यले भने, ‘त्यहाँ रहनेछ राम्रो भो ।’

बक्सअफिस रिपोर्टमा चलचित्र गायबको विषय आफूलाई पनि राम्रोसँग जानकारी नभएको बोर्डका सदस्य तथा प्रवक्ता सन्तोष लोहनी बताउँछन् । ‘बोर्डमा म आएको भर्खर हो । अहिले बक्सअफिस हेर्ने टिम बिदामा छन्,’ लोहनीले भने, ‘त्यो टिमसँग बसेपछि डिटेलमा के भएको रहेछ बाहिर ल्याउँछु ।’ अबका दिनमा सत्यतथ्य बक्सअफिस बाहिर ल्याउनेमा आफ्नो पहल रहने लोहनीले विश्वास दिलाए ।

चलचित्र विकास बोर्डका अध्यक्ष (२०८१ भदौ १३) नियुक्त भएलगत्तै दिनेश डिसीले भनेका थिए– ‘वैशाखबाट नियमित बक्सअफिस रिपोर्ट सार्वजनिक व्यवस्था गर्छु ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट