इलाम : पर्यटन प्रवर्द्धनका लागि गत वर्ष सुरु गरिएको ‘निसान पदमार्ग’ मा यस वर्ष पुस २३ देखि २६ गतेसम्म पदयात्रा आयोजना हुने भएको छ।
सूर्योदय नगरपालिका–४ मेचीबजारबाट सुरु हुने पदयात्रा पुर्णेडाँडा, सुन्तले, माईजोगमाई गाउँपालिकाको हात्तीटार, माइबेनी हुँदै २६ गते इलाम नगरपालिकाको माईस्थानमा समापन गरिने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए।
४१ किलोमिटर लामो उक्त पदमार्ग तत्कालीन नेपाल एकीकरणको समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी निर्माण गरिएको हो। यस वर्षको पदयात्रा इलामस्थित नेपाली सेना, रणशार्दूल गणको संयोजनमा आयोजना गरिएको छ।
गणपति प्रह्लाद घलेका अनुसार, पदमार्ग नेपाल–भारत सिमानामा पर्ने मेची नदीको मुहानदेखि माईस्थान मन्दिरसम्म फैलिएको छ। तत्कालीन श्रीनाथ पल्टनले पूर्वी भूभागमा विजय गरेर गाडेका निसानहरू सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानमा पदयात्रा तयारी गरिएको हो।
पदयात्रामा नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालाको टोली सहभागी हुने माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले जानकारी दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij