काठमाडाैँ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले भन्सार प्रशासनलाई केवल राजश्व उठाउने निकायको रूपमा मात्र सीमित राख्न नहुने बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सीमा नाकाको सुरक्षा, व्यापार सहजीकरण, जनस्वास्थ्य प्रवद्र्धन तथा आपूर्ति श्रृङ्खलालाई व्यवस्थित बनाउने महत्वपूर्ण निकायका रूपमा भन्सार प्रशासनलाई लिनुपर्ने बताएका हुन् ।
सचिव घिमिरेले हाल भन्सार सुधार तथा आधुनिकीकरण रणनीति तयार हुँदै गरेको बताउँदै वार्षिक कार्यक्रम र माइलस्टोनमा बढी फोकस हुँदा दीर्घकालीन आधुनिकीकरण र रणनीतिमा कम ध्यान गएको जस्तो देखिएको टिप्पणी गरे । वार्षिक कार्यक्रम र माइलस्टोनका साथसाथै नयाँ रणनीति तर्जुमा गर्नुपर्ने उनले बताए ।
सचिव घिमिरेले भने– ‘भन्सार प्रशासन भनेको केबल राजस्व उठाउने निकाय होइन । बोर्डरको नाका सुरक्षा, व्यापारको सहजीकरण, जनस्वास्थ्यको प्रवद्र्धन, आपूर्ति श्रृङ्खलालाई व्यवस्थित बनाउने महत्वपूर्ण निकाय हो । भन्सार सुधार तथा आधुनिकीकरण रणनीति बन्दैछ । वार्षिक कार्यक्रम र माइलस्टोनका साथसाथै नयाँ रणनीति तर्जुमा गर्नुपर्छ ।’
सचिव घिमिरेले भन्सार ऐनअनुसार नै प्रशासन सजग रहनुपर्ने र निजी क्षेत्र पनि सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । घिमिरेकाअनुसार अब जाँचपास प्रक्रियामा अब ढिलाइ गर्न हुँदैन भने व्यवसायीहरुले पनि भन्सार ऐन मिच्नुहुँदैन । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij