Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

मानव बेचबिखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपालको पहल, राप्तीमा सरोकारवालाबीच समन्वयात्मक छलफल

मानव बेचबिखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपालको पहल, राप्तीमा सरोकारवालाबीच समन्वयात्मक छलफल

राप्ती : पूर्वी चितवनको राप्ती नगरपालिकामा मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरणसम्बन्धी सरोकारवाला निकाय र विद्यालयहरूबीच समन्वयात्मक छलफल सम्पन्न भएको छ। थ्रि एन्जल्स नेपाल, चितवन शाखाको आयोजनामा राप्ती नगरपालिका तथा मनहरी गाउँपालिका भित्रका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूबीच उक्त छलफल गरिएको हो।

बागमती प्रदेश सभा सदस्य जे.एन. थपलिया प्रमुख अतिथि रहनुभएको कार्यक्रममा थ्रि एन्जल्स नेपालका सीईओ विवेक ढकालको अध्यक्षता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि थपलियाले मानव बेचबिखन तथा ओसारपोसार जस्तो जघन्य अपराधलाई जरैदेखि निर्मूल पार्न गाउँ, टोल, समाज, स्थानीय तहदेखि सिंगो राज्य नै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

गत शनिबार राप्ती–२, गड्यौलीस्थित मास्के कम्प्लेक्समा आयोजित कार्यक्रममा राप्ती–२ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेती, राप्ती–३ का वडा अध्यक्ष शिवकान्त ओली, मनहरी गाउँपालिका वडा नम्बर–७ का वडा सदस्य नवराज सुवेदी, श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालय राप्तिका सहायक प्रधानाध्यापक साधुराम रिजाल, बुद्ध शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक नमराज अधिकारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अस्थायी प्रहरी पोष्ट लोथरका प्रमुख गोपीबहादुर ब्लोनले मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउँदै टोलछिमेकमा शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरी कार्यालय वा वडा कार्यालयमा जानकारी गराउन आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागी नेपाल सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूले मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरणका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै संकल्पपत्रमा हस्ताक्षर गरेका थिए।

साथै, महिला, किशोरी तथा बालबालिकाको गरिमा, सुरक्षा र अधिकार संरक्षणका लागि नीति कार्यान्वयन, समन्वय, पीडित केन्द्रित संरक्षण तथा दिगो पुनःस्थापनामा सबै पक्षको संयुक्त भूमिकाको अपरिहार्यतामा जोड दिइएको छ। परिणाममुखी र जवाफदेही सहकार्य हुने विश्वाससमेत व्यक्त गरिएको छ।

“उद्धार, रोकथाम र पुनःस्थापनाको माध्यमबाट मानव बेचबिखनको अन्त्य गरौं” भन्ने मूल उद्देश्यसहित स्थापना भएको थ्रि एन्जल्स नेपालले विगतदेखि नै मानव बेचबिखनविरुद्ध जनचेतनामूलक विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

थ्रि एन्जल्स नेपालकी एएफटी म्यानेजर ममिला गुरुङले सहजीकरण गर्नुभएको उक्त कार्यक्रम संस्थाकी चितवन शाखा अध्यक्ष सुनिता सिलवालले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट