Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

भ्रष्टाचारको समाचार लेखेपछि चीनमा दुई पत्रकार पक्राउ

भ्रष्टाचारको समाचार लेखेपछि चीनमा दुई पत्रकार पक्राउ

बेइजिङ : चीनमा दुई जना खोजमूलक पत्रकारलाई भ्रष्टाचारसम्बन्धी समाचार सार्वजनिक गरेपछि पक्राउ गरिएको भन्दै अधिकारकर्मी समूहहरू र अभियन्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । अधिकार समूहका अनुसार सिचुआन प्रान्तका एक उच्च अधिकारीको कथित भ्रष्टाचार उजागर गरेपछि पत्रकार लिउ हु र वु यिङजियाओलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

चीनमा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारमाध्यममाथि दमनको विषयमा लामो समयदेखि आलोचना भइरहेको छ । चिनियाँ अधिकारीहरूले पत्रकारहरूलाई ‘अशान्ति फैलाएको’ आरोपमा पक्राउ र अभियोजन गर्ने गरेका छन् । ५० वर्षीय लिउ र ३४ वर्षीय वु थर भएका दुई व्यक्तिमाथि झूटा आरोप लगाएको र अवैध व्यावसायिक गतिविधि गरेको मामिलामा अनुसन्धान भइरहेको चेङ्दु प्रहरीले सोमबार दिएको वक्तव्यमा जनाएको छ । चीन सरकारले अधिकार समूहहरूको आलोचनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

लिउ हु चीनका चर्चित खोजमूलक पत्रकार हुन् ।सन् २०१३ मा एक उच्च अधिकारीमाथि भ्रष्टाचारको आरोप लगाएपछि मानहानिको आशंकामा उनी पक्राउ परेका थिए । सन् २०१४ मा रिहा भएपछि उनले सामाजिक सञ्जालमार्फत अनुसन्धानात्मक रिपोर्टहरू प्रकाशन जारी राखे । वु यिङजियाओ प्रायः लिउसँग सहकार्य गर्छन् । उनीहरूले वीच्याटमा सञ्चालित एक सार्वजनिक खातामार्फत समाचार लेख प्रकाशन गर्दै आएका थिए ।

चिनियाँ मानवअधिकार रक्षक समूहका अनुसार लिउ आइतबार चोङछिङबाट बेइजिङ जाने क्रममा सम्पर्कविहीन भएका थिए । उही दिन वुलाई हेबेई प्रान्तबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । अधिकार समूहहरूका अनुसार उनीहरूले हालै सार्वजनिक गरेको रिपोर्टमा एक काउन्टी अधिकारीका कारण व्यवसायहरू धराशायी भएको दाबी गरिएको थियो ।  उक्त रिपोर्ट अहिले वीच्याटबाट हटाइएको छ । पक्राउअघि लिउले चेङ्दुस्थित अनुशासन निरीक्षण अधिकारीले रिपोर्ट प्रकाशित नगर्न  दबाब दिएको सन्देशहरू वीच्याटमा पोस्ट गरेको रिपोर्टर्स विदाउट बोर्डर्सले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट