जनकपुर : एघार करोड रुपैयाँमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति नदीको उत्खनन तथा विकास निर्माण सुरु भएको छ। मधेस प्रदेश सरकारको ऊर्जा तथा सिँचाइ तथा खानेपानी मन्त्रालयको सहयोगमा नदी उत्खनन तथा विकास निर्माण सुरु भएको हो।
मन्त्रालयका निमित्त सचिव रामकुमार खंगले नदीको पहिलो चरणमा धनुषाको महेन्द्रनगरदेखि महोत्तरीको मटिहानीसम्म २९ किलोमिटर बहाव क्षेत्रमा कार्य हुने जानकारी दिए। मन्त्रालयको दूधमति नदीको विकास कार्यक्रमअन्तर्गत नदीको सौन्दर्यकरण, घाट निर्माण र मर्मतसम्भार, बाँध निर्माण, सडक निर्माण तथा सिँचाइका सुविधा पुर्याउनेलगायतको कार्य हुनेछ ।
नदी उत्खनन तथा विकासको ठेक्का बछलादेवी जेभी काठमाडौँले एक वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको मन्त्रालयले जनाएको छ। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको कार्यकालमा उत्खननका साथै अतिक्रमण हटाउने विषयमा बजेट विनियोजन भएको थियो। साथै तत्कालीन प्रदेशका पूर्वऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको पहलमा बजेट विनियोजन भएको थियो। विभिन्न धार्मिकग्रन्थमा समेत पवित्र नदीको रूपमा वर्णन गरिएको हुँदा यहाँ स्नान तथा पूजाआजा हुने गर्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij