Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

नेपालमा लगानी गर्न कतारी उद्योगी इच्छुक, गभर्नर पौडेलसँग नीतिगत छलफल

नेपालमा लगानी गर्न कतारी उद्योगी इच्छुक, गभर्नर पौडेलसँग नीतिगत छलफल

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ। मङ्गलबार भएको उक्त भेटमा नेपालमा कतारी लगानी आकर्षणका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली र लगानीका सम्भावनाबारे गहन छलफल भएको हो।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वमा रहेको टोलीले नेपालमा स्थिर नीति र स्पष्ट कानुनी संरचना भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको बताएका छन्। भेटवार्तामा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको समेत सहभागिता रहेको थियो।

छलफलका क्रममा गभर्नर पौडेलले नेपालले वैदेशिक लगानीलाई प्राथमिकतामा राख्दै निरन्तर नीतिगत सुधार गरिरहेको जानकारी दिए। उनले कतारी लगानीकर्तालाई आवश्यक पर्ने बैंकिङ सहजीकरण र नीतिगत व्यवस्थाबारे प्रष्ट पारेका थिए। कतारी टोलीले विशेष गरी बैंकिङ, पर्यटन, सूचना प्रविधि र जनशक्ति विकासका क्षेत्रमा सहकार्य गर्न रुचि देखाएको छ। महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कतारी लगानी भित्र्याउन ठोस सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्र र सरकारबीचको संवाद तथा संस्थागत संयन्त्रमार्फत सहजीकरण गर्न महासङ्घ प्रतिबद्ध रहेको बताए। कतारी टोलीले लगानीका लागि स्पष्ट 'रोडम्याप' भएमा ठुलो पुँजी नेपाल भित्रिन सक्ने धारणा राखेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट