Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

चितवनमा तीनदिने बिल्ड नेपाल एक्स्पो हुँदै, ६० स्टल र २५ हजार दर्शकको अपेक्षा

चितवनमा तीनदिने बिल्ड नेपाल एक्स्पो हुँदै, ६० स्टल र २५ हजार दर्शकको अपेक्षा

चितवन : सुस्ताउँदै गएको घरजग्गा व्यवसायलाई पुनः चलायमान बनाउने, आधुनिक निर्माण सामग्रीको सहज पहुँच विस्तार गर्ने तथा स्वदेशमै लगानी र व्यवसायका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ।भिग्रुप इभेन्ट्स र एसवन होम्सको आयोजनामा एक्स्पोको दोस्रो संस्करण आगामी २०८३ मंसिर २५ देखि २७ गतेसम्म (सन् २०२६ डिसेम्बर ११ देखि १३ सम्म) चितवन उद्योग संघको एक्स्पो सेन्टरमा सञ्चालन हुनेछ।पछिल्लो समय आर्थिक मन्दी, युवाको विदेश पलायन तथा देशभित्र लगानी र व्यवसायका लागि अनुकूल वातावरणको अभावलगायतका कारण घरजग्गा कारोबारमा सुस्तता आएको आयोजकको भनाइ छ। यही अवस्थालाई अवसरमा बदल्दै घरजग्गा व्यवसायलाई पुनः लयमा फर्काउने र निर्माण क्षेत्रमार्फत आर्थिक गतिविधि बढाउने लक्ष्यका साथ एक्स्पो आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार घर निर्माण अधिकांश मानिसका लागि जीवनकै महत्वपूर्ण निर्णयमध्ये एक हो। तर, निर्माणसम्बन्धी पर्याप्त जानकारी नहुँदा घर बनाउन अनावश्यक लागत र समय लाग्ने तथा निर्माणको गुणस्तरमा समेत समस्या आउन सक्ने जोखिम रहन्छ। त्यसलाई मध्यनजर गर्दै एक्स्पोमा आधुनिक निर्माण सामग्री, घरको डिजाइन, निर्माण प्रविधि, सरकारी मापदण्ड तथा सुरक्षित आवाससम्बन्धी जानकारी उपलब्ध गराइनेछ।हालैका वर्षमा विभिन्न स्थानमा भएका बाढीपहिरोजस्ता प्राकृतिक विपद्ले सुरक्षित आवासको आवश्यकतालाई थप उजागर गरेको छ। यस्तो अवस्थामा सुरक्षित गन्तव्यको खोजीमा रहेका परिवारलाई उपयुक्त आवाससम्बन्धी जानकारी उपलब्ध गराउनुका साथै घरजग्गा व्यवसाय र निर्माण क्षेत्रलाई व्यवस्थित तथा प्रभावकारी बनाउन एक्स्पोले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

एक्स्पोमा घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष भेटघाट तथा अन्तरक्रियाको व्यवस्था गरिनेछ। साथै निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेता, घरजग्गा व्यवसायी, इन्जिनियर, सरकारी निकायका प्रतिनिधि, विज्ञ र उपभोक्तालाई एउटै मञ्चमा ल्याएर परामर्श, अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा देशभरका घरजग्गा व्यवसायी, निर्माण कम्पनी तथा निर्माण सामग्रीसम्बन्धी प्रदर्शकका गरी करिब ६० वटा स्टल रहनेछन्। आयोजकले एक्स्पोमा २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ। प्रदर्शकका लागि स्टल बुकिङसमेत सुरु भइसकेको जनाइएको छ। स्टल buildnepalexpo.com मार्फत  पनि बुकिङ गर्न सकिने आयोजक ले जनाएका छन् । एक्स्पोले निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीलाई आफ्ना उत्पादन तथा सेवा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नुका साथै घर निर्माण गर्न चाहने सर्वसाधारणलाई विभिन्न सामग्री, प्रविधि र सेवाबारे जानकारी लिएर उपयुक्त विकल्प छनोट गर्न सहयोग पुर्‍याउने विश्वास आयोजकको छ।
देशभित्रै उपलब्ध सम्भावना र अवसरलाई उजागर गर्दै युवालाई स्वदेशमै उद्यम तथा व्यवसाय गर्न प्रोत्साहित गर्नु पनि एक्स्पोको अर्को उद्देश्य रहेको आयोजकले जनाएको छ।

चितवनको भौगोलिक अवस्थिति र निर्माण क्षेत्रमा रहेको सम्भावनालाई उपयोग गर्दै घरजग्गा कारोबार विस्तार तथा आर्थिक गतिविधि वृद्धि गर्न एक्स्पो महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता, विद्यार्थी तथा सर्वसाधारणले एक्स्पोबाट लाभ लिन सक्ने आयोजकको भनाइ छ। धेरैभन्दा धेरै व्यक्तिको सहभागिता सुनिश्चित गर्न एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
आयोजकले सरकारी निकाय, निजी क्षेत्र, निर्माण व्यवसायी तथा सर्वसाधारणको सहकार्यबाट सुरक्षित, गुणस्तरीय र किफायती आवास निर्माणको प्रवर्द्धन गर्दै देशभित्रै आर्थिक अवसर सिर्जना गर्न एक्स्पोले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट