Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

नेपालको ब्याटिङ र बलिङ कमजोर, विश्वकपमा जीतको सपना अधुरो

नेपालको ब्याटिङ र बलिङ कमजोर, विश्वकपमा जीतको सपना अधुरो

काठमाडाैं : नेपाल लगातार तेस्रो पराजयपछि आधिकारिक रूपमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ। आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा सम्पन्न खेलमा नेपालले दुई पटकको च्याम्पियन वेस्ट इन्डिजसँग ९ विकेटले हार व्यहोरेको हो।

नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। कप्तान रोहितकुमार पौडेल ५, आसिफ शेख ११, आरिफ शेख २ रन मात्र बनाउँदै आउट भए। लोकेश बम १३, गुलशनकुमार झा ११ रनमा आउट हुँदा नेपाल ७३–६ मा पुगेको थियो। त्यसपछि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले ५४ रनको साझेदारी गर्दै नेपाललाई १३३ रनसम्म पुर्‍याए। दीपेन्द्रले सर्वाधिक ५८ रन बनाए भने सोमपाल अविजित २६ रनमा रहे।

वेस्ट इन्डिजको पक्षबाट कप्तान साइ होप ६१ र सिम्रन हेटमायर ४६ रनमा अविजित रहे। दोस्रो विकेटको लागि यी दुईले ९१ रनको साझेदारी गरे। जेसन होल्डरले ४ ओभरमा २७ रन खर्च्दै ४ विकेट लिए।

नेपालका बलरमध्ये दीपेन्द्रसिंह ऐरी सबैभन्दा किफायती बने (३.२ ओभरमा १९ रन खर्च, ५.७० इकनोमी)। सन्दीप लामिछाने सबैभन्दा महँगो (३ ओभरमा ३८ रन, १२.६६ इकनोमी) भए।

खेलपछि सोमपाल कामीले भने, “हामीले आज पनि सोचे अनुसारको प्रदर्शन गर्न सकेनौं। इंग्ल्यान्डविरुद्ध राम्रो खेल प्रदर्शन गरेका थियौँ, तर त्यसपछिका २ खेल खराब रह्यो। हामीमा क्षमता छ तर मैदानमा देखाउन सकिरहेका छैनौँ। आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास हुनेछ।”

नेपालको ब्याटिङ र बलिङमा कमजोरीले समूह चरणबाटै बाहिरिनु परेको हो। यससँगै नेपालको विश्वकप अभियान समाप्त भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट