काठमाडौँ : काठमाडौँको मुख्य नाका नागढुङ्गामा प्रहरीले झण्डै ३ केजी चाँदीसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा अवैध रूपमा ल्याइएको चाँदीका दानासहित पर्साका १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार अपराह्न ४ बजे वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र. ०१-००६ ख ५५२९ नम्बरको यात्रुवाहक बसलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा रोकिएको थियो। प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले खानतलासी गर्दा बसमा सवार किशोरको साथमा रहेको कालो झोलाभित्र सेतो प्लास्टिकले बेरी लुकाई छिपाई ल्याएको अवस्थामा चाँदी फेला परेको हो।
बरामद गरिएको २ केजी ९०० ग्राम चाँदीको बजार मूल्य करिब १२ लाख १४ हजार ५ सय २० रुपैयाँ बराबर रहेको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए। अवैध रूपमा ओसारपसार गरिएको उक्त चाँदी र पक्राउ परेका युवकलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij