काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको रिटमा सक्कल फाइल झिकाउन आदेश दिएको छ ।
न्यायाधीशहरू नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले निर्वाचन आयोगको ४ फागुन २०८२ मा पत्र पठाएको र त्यसैअनुसार पक्राउ गरिएको भन्नेबारे निर्णयसहितको सक्कल फाइल झिकाउन सोमबार आदेश गरेको हो। निर्वाचन बिथोल्ने अभिव्यक्ति र गतिविधिपछि निर्वाचन आयोगको उजुरीका आधारमा प्रहरीले गत फागुन ४ गते प्रसाईँलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । त्यसपछि प्रसाईँको परिवारले विनाकारण पक्राउ गरी हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थियो।
सर्वोच्चले उक्त रिटमा सुनुवाई गर्दै महान्यायाधिवक्ता कार्यालयमार्फत् सक्कल फाइल झिकाउन आदेश दिएको हो । 'को पत्रबाट अनुसन्धान गरी कारबाही गर्न लेखी पठाए बमोजिम निवेदकलाई पक्राउ गरिएको भन्ने खुल्न आएकाले सो आयोगबाट निवेदन उपर अनुसन्धान गरी कारबाही गर्न लेखी पठाउने भनी गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत् झिकाउनू,' आदेशमा भनिएको छ ।
त्यस्तै फागुन १२ गते मंगलबारका लागि पेसी समेत तोकिएको छ । प्रसाईंलाई यसअघि प्रहरीले माघ २३ गते पनि पक्राउ गरेको थियो । त्यसबेला उनी हाजिर जमानीमा छुटेका थिए । निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको ‘आधार’ बनाएर त्यसबेला पक्राउ गरी बयान लिएर छाडेको थियो। उनलाई माघ ५ गते पनि प्रहरीले पोखराबाट पक्राउ गरेको थियो । निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइट ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएर रकम लगानी गरेको आरोप लागेपछि त्यसबेला उनलाई पक्राउ गरिएको थियो ।
यस्तै, उनले कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले सामाजिक सञ्जालमा पनि यो भिडियो पोस्ट गरेका थिए । त्यसबेला उनलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचारसमेत गरेको थियो । आक्रामक अभिव्यक्तिका कारण पटक पटक पक्राउ पर्दै र छुट्दै आएका प्रसाईं हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij