काठमाडौँ : नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घले पोखराबाट काठमाडौँ तर्फ आउँदै गरेको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
सोमबार मात्रै धादिङको बेनिघाट रोराङ गाँउपालिका–५, भैसीगौडा स्थित पृथ्वी लोकमार्गमा बस अनियन्त्रित भई सडकबाट त्रिशुली नदीको किनारामा खसेको थियो । उक्त दुर्घटनामा १९ जना यात्रुहरूले ज्यान गुमाएका छन् । यसैबिच महासङ्घले बस दुर्घटनाका सम्बन्धमा गृह मन्त्रालयबाट छानबिन समिति गठन गरिएकोमा स्वागत गर्दै विगतमा सरकारद्वारा गठित यातायातसँग सम्बन्धी कार्यदल प्रतिवेदन र दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न जोडदार माग गरेको छ ।
मंगलबार महासङ्घका कार्यवाहक महासचिव पुरुषोत्तम सिम्खडाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘सडक दुर्घटना पश्चात् बनेका सिमलताल बस दुर्घटना प्रतिवेदन २०८१ र नेपाल सरकारद्वारा गठित यातायात सुधार सुझाव कार्यदल प्रतिवेदन २०८० सहित दुर्घटना न्यूनीकरणका लागी विज्ञ सहितको गठित कार्यदलले पेस गरेको प्रतिवेदन सरकारले कार्यान्वयन नगर्दा दिन प्रतिदिन सडक दुर्घटनामा वृद्धि भइरहेको छन् ।’ देशका विभिन्न स्थानहरूमा सञ्चालित सार्वजनिक सवारी साधनहरूको उचित शान्ति सुरक्षाको कडा व्यवस्था गरी निर्विवाद र भयरहित वातावरणमा सार्वजनिक यातायात सञ्चालन गर्ने वातावरणको लागी नेपाल सरकारसमक्ष जोडदार माग समेत गरिएको छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij