काठमाडौंः लालसागरमा तैनाथ विमानबाहक जहाज युएसएस जेराल्ड आर.फोर्डमा आगलागी हुँदा दुई जना नौसैनिक घाइते भएको अमेरिकी नौसेनाले जनाएको छ। जहाजको मुख्य लुगा धुने ठाउँबाट आगलागी सुरु भएको नौसेनाको भनाई छ।
मार्च १२ मा युएसएस जेराल्ड आर. फोर्डको मुख्य लुगा धुने ठाउँबाट आगलागी सुरु भएको अमेरिकी नौसेना केन्द्रिय कमाण्डले सामाजिक सञ्जालमा पोष्ट गर्दै जानकारी गराएको हो। उक्त पोस्टकाअनुसार यो आगलागी कुनै युद्ध वा आक्रमणसँग सम्बन्धित नभएको र यसलाई पूर्णरुपमा नियन्त्रणमा लिइएको उल्लेख छ।
कमाण्डले पानीजहाजको प्रोपल्सन प्लान्टमा (इन्जिन प्रणाली) कुनै क्षति नपुगेको र यो विमानवाहक पोत पूर्णरूपमा सञ्चालनमा रहेको बताएको छ। घाइते दुई नौसैनिकहरूको अवस्था स्थिर रहेको र उनीहरूको ज्यानलाई कुनै खतरा नरहेको बताइएको छ। उनीहरूले हाल स्वास्थ्य उपचार गराइरहेका र यस विषयमा थप जानकारी प्राप्त भएपछि सार्वजनिक गरिने कमाण्डले जनाएको छ।
फोर्ड क्यारियर स्ट्राइक ग्रुपले आफ्नो पछिल्लो मिसन जुन २४ मा अमेरिकाको भर्जिनिया राज्यबाट शुरु गरेको थियो। शुरुमा अमेरिकी युरोपेली कमाण्ड क्षेत्रमा खटिएको यो टोली पछि लागुऔषध विरोधी अभियानका लागि ल्याटिन अमेरिका र त्यसपछि इरानसँगको तनाव बढेपछि मध्यपूर्वमा खटिएको थियो।
अमेरिकी अनलाइन मिडिया ‘नेभी टाइम्स’को रिपोर्टअनुसार, सोमबारसम्म यो पानीजहाज लगातार २६१ दिनदेखि समुन्द्रमा छ। नौसेना कार्यसञ्चालनका उप–प्रमुख जेम्स किल्बीले मार्च ४ मा सांसदहरूलाई बताएअनुसार यो मिसन ११ महिनासम्म लम्बिन सक्छ। जुन अमेरिकी नौसेनाको इतिहासमै समुद्रमा बिताएको सबैभन्दा लामो समयको नजिक हुनेछ।
हालको मिसनका क्रममा फोर्डले प्लम्बिङ (पाइप तथा ढल)सम्बन्धी समस्याहरूको पनि सामना गरिरहेको छ। जसले गर्दा त्यहाँ रहेका करिव ६५० वटा शौचालयहरू प्रभावित भएका छन्। एनपीआरको रिपोर्टअनुसार विमानवाहक पोतको भ्याकुम फोहोर पानी सङ्कलन प्रणाली पटक–पटक बिग्रिएको छ। सन् २०२३ यता मर्मतका लागि ४२ पटक बोलाइएको र सन् २०२५ मा मात्रै ३२ पटक यस्तो समस्या देखिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij