काठमाडौं: नेपालमा वायु प्रदूषणका कारण प्रत्येक वर्ष करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी का अनुसार तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिकामा हुने गरेको छ।
डा. बुढाथोकीले वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग, हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्तिमा कमी देखिने जानकारी दिएका छन्। बालबालिकामा भने श्वासप्रश्वासको समस्या, मुटुसम्बन्धी रोग, शिशु बिरामीदर बढ्नु, मस्तिष्क विकासमा ढिलाइ, असामान्य व्यवहार, कुपोषण, कम तौल, रक्तअल्पता, बाँझोपन, गर्भकालीन मधुमेह र मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ।
विश्व स्वास्थ्य सङ्गठन (WHO) को मापदण्डअनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रति घनमिटर ५ माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन। तर नेपालमा वायु प्रदूषण आठ गुणा बढी रहेको डा. बुढाथोकीले जानकारी दिए। बिहीबार नेपालमा वायु गुणस्तर सूचक १८५ सम्म पुगेको छ, जुन अस्वस्थ्य स्तरमा पर्छ।
वायु गुणस्तर सूचक ०–५० स्वस्थ, ५१–१०० सचेत, १०१–१५० जोखिम समूहका लागि हानिकारक, र १५१ माथि अस्वस्थ्य मानिन्छ। डा. बुढाथोकीका अनुसार यदि वायु प्रदूषण WHO मापदण्डभित्र ल्याउन सकियो भने नेपालीको औसत आयु ३.३ वर्षले बढ्ने अनुमान छ।
सवारीसाधनको धुँवा, औद्योगिक उत्सर्जन, खुला रूपमा फोहर जलाउनु, सडक र निर्माण कार्यको धुलो, वन डढेलो, किटनाशक र विषादीको प्रयोग जस्ता कारणले वायु प्रदूषण बढ्ने गरेको छ। विश्वमा वायु प्रदूषणका कारण ७९ लाख मानिसको मृत्यु हुने गरेको छ र तीमध्ये ९०% कम तथा मध्यम आय भएका देशका नागरिक हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij