Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

 ओडिसा : भारतको ओडिसास्थित कटकमा रहेको श्रीराम चन्द्र भञ्ज मेडिकल कलेज अस्पतालमा आइतबार राति भीषण आगलागी हुँदा १० जना बिरामीले ज्यान गुमाएका छन्। राति करिब ३ बजे अस्पतालको पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट सुरु भएको आगोले छोटो समयमै उग्र रूप लिँदा ७ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो। 

आगलागीको समयमा उक्त आईसीयू कक्षमा २३ जना बिरामी भर्ना थिए, जसलाई बचाउने क्रममा अस्पतालका कम्तीमा ११ जना कर्मचारीसमेत जलेर घाइते भएका छन्। प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने देखिएको छ। ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले सोमबार बिहानै अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्। उनले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख भारु राहत दिने घोषणा गर्दै घटनाको उच्चस्तरीय छानबिन गर्न आदेश दिएका छन्। यो अस्पताल ओडिसाकै सबैभन्दा ठुलो स्वास्थ्य संस्था मानिन्छ, जहाँ राज्यभरका बिरामी उपचारका लागि आउने गर्छन्।

अस्पतालका आईसीयू कक्षहरूमा हुने यस्ता आगलागीका घटनाले सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। यसअघि अक्टोबर २०२५ मा पनि जयपुरको सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा आगलागी हुँदा ८ जना बिरामीको ज्यान गएको थियो। त्यतिबेला स्टोर रुममा रहेको स्मोक डिटेक्टरले काम नगर्दा अलार्म प्रणाली सक्रिय हुन सकेको थिएन, जसका कारण भेन्टिलेटरमा रहेका बिरामीहरूले ज्यान गुमाउनु परेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट