रत्ननगर : पूर्वी चितवनको सौराहामा सोमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ युनिट रगत सङ्कलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री स्वर्गीय राममणि खनालको स्मृतिमा आयोजित कार्यक्रममा २१ जना महिला सहित ७१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले वडा कार्यालय परिसरमा आयोजना गरेको उक्त कार्यक्रम रेडक्रसका जिल्ला सभापति हरिप्रसाद पौडेलले उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै सभापति पौडेलले संस्थाका मन्त्री खनालले सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै मानवीय कार्यमा समेत उहाँले महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गरे । वडा नं ६ का वडाध्यक्ष किरण महतोले खनाल जनताको समस्या बुझेर काम गर्न सक्ने क्षमता भएका नेता रहेको बताए ।
स्थानीय सरकारलाई मार्गनिर्देशन गर्न सक्ने क्षमता भएको खनालको निधनले समग्र नगरलाई नै असर परेको उनको भनाई छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीका सभापति सुवास बिडारीले खनालले समाजको पु¥याएको योगदानको चर्चा गर्दै ९० दिनको पुण्यतिथिमा मानवीय कार्यको रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । परिवारको तर्फबाट मन्तव्य राख्दै राममणि खनालका भाइ ऋषि खनालले समाजको नेतृत्व गर्न सक्ने दाईको क्षमता र समस्यामा परेका मानिसको पक्षमा खरो रुपमा प्रस्तुत हुने स्वभाव सबैले रुचाएको आफूले पाएको बताए । झर्किने बानी थियो उनले भने तर भित्र मन कोमल थियो, कसैको कुभलो कहिल्यै चिताउनु भएन ।
कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेल, ८ का वडाध्यक्ष कृष्ण चौधरी, चितवन रेडक्रसका पूर्वमन्त्री विदुर केसी, लायन्स क्लब अफ चितवन सौराहाकी अध्यक्ष देवकला भट्टराई लायन्स क्लब अफ सौराहा वाइल्डफाइफ सिटीका अध्यक्ष अमृत पौडेल, लियो क्लब अफ सौराहाका अध्यक्ष विवेक घिमिरे, बाघमारा वनका अध्यक्ष विपी चौधरी, कोषाध्यक्ष ध्रुव खनाल, पर्यटन व्यवसायी रामकुमार अर्याल, समाजसेवी बद्रि खनाल लगायतले उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीका उपसभापति सरस्वती चालिसेले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रम सचिव मनोज चौधरीले सञ्चालन गरेका थिए । कार्यक्रम संयोजक श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij