काठमाडौं : पाकिस्तानले सोमबार राति फेरि अफगानिस्तानमा एयर स्ट्राइक हवाई आक्रमण गरेको छ। स्थानीय सञ्चार माध्यमहरुका अनुसार पाकिस्तानी एयरफोर्सका लडाकू विमानले राजधानी काबुलसहित अन्य क्षेत्रहरुमासमेत निशाना बनाएका छन्।
आक्रमणमा परी ४ सय जना मारिएको र २५० जना घाइते भएको स्थानीय सञ्चार माध्यमलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ। रिपोर्ट्सका अनुसार दारुलअमान, अरजान कीमत, खैराखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिकका कैयौं क्षेत्रमा विस्फोट र गोलीबारीका आवाजहरु सुनिएका छन्।
तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलमा नशामुक्ति अस्पतालमा बम खसालेको आरोप लगाएका छन्। यो आक्रमणलाई कडा रुपमा निन्दा गर्दै तालिबान सरकारले मानवताविरुद्धको अपराध बताएको छ भने पाकिस्तानले अफगानिस्तानको हवाई सीमाको उल्लंघन गरेको बताएको छ।यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले यी आरोपलाई अस्वीकार गर्दै काबुलमा कुनै पनि अस्पताललाई निशाना नबनाइएको बताएका छन्।
पाकिस्तानको सूचना मन्त्रालयले आक्रमण काबुल र नंगहारमा रहेका सैन्य ठेगाना, प्राविधिक उपकरणको भन्डार र हतियार भन्डार स्थलमा गरिएको बताएको छ।
यी क्षेत्रहरुबाट पाकिस्तानी नागरिकविरुद्ध आक्रमण गरिएकाले जवाफी कारबाही गरेको उक्त मन्त्रालयको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij