दुबई : अमेरिका र इजरायलसँगको युद्ध सुरु भएयता इरानी सेनाले संयुक्त अरब इमिरेट्स (यूएई) लाई लक्षित गरी आक्रमण तीव्र पारेको छ। हालसम्म इरानले यूएईका विभिन्न रणनीतिक क्षेत्रहरूमा १९ सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार गरिसकेको छ।
विशेष गरी यूएईको यातायात सञ्जाल र तेल पूर्वाधारलाई ध्वस्त पार्ने रणनीति इरानले अपनाएको देखिएको छ। पछिल्लो समय विश्वकै व्यस्त हवाई हब मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमणका कारण भीषण आगलागी भएपछि सोमबार सबै उडानहरू अस्थायी रूपमा स्थगित गरिएका थिए। यति मात्र नभई, क्षेत्रकै ठूलो तेल भण्डारण केन्द्र मानिने फुजैराह बन्दरगाहमा पनि ड्रोन हमलाबाट क्षति पुगेको छ। राजधानी अबु धाबीको बाहिरी इलाकामा भएको रकेट आक्रमणमा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको पुष्टि भएको छ। यसअघि फेब्रुअरीको अन्त्यतिर दुबईको एक विलासी होटलमा समेत आक्रमण भएको थियो, जसले गर्दा यहाँको पर्यटन र व्यापारिक सुरक्षामा ठुलो धक्का लागेको छ।
यूएईले आफूलाई यो युद्धमा अनावश्यक रूपमा तानिएको महसुस गरेको छ। बीबीसीका अनुसार इरानले यूएईमाथि दबाब बढाएर अमेरिकालाई युद्ध रोक्न बाध्य पार्ने रणनीति लिएको हुन सक्छ। तर, यस प्रकारको निरन्तरको प्रहारले यूएईका अधिकारीहरू आक्रोशित बनेका छन्। दशकौंको मेहेनतपछि सुरक्षित र समृद्ध मुलुकको पहिचान बनाएको यूएईमाथि भइरहेका यी शृङ्खलाबद्ध आक्रमणले दीर्घकालीन आर्थिक र सामाजिक असर पार्ने भन्दै यहाँका नागरिकहरू चिन्तित देखिएका छन्। इरानले यूएईलाई अमेरिकी सैन्य अखडा प्रयोग गर्न दिएको आरोप लगाउँदै आएको छ। तर, निर्दोष नागरिक र आर्थिक मेरुदण्ड मानिने पूर्वाधारमाथि भएका यी आक्रमणले खाडी क्षेत्रमा मानवीय संकट र अनिश्चितता अझ बढाएको छ। पटक-पटकको हवाई अवरोध र तेल सुविधाहरूमाथिको प्रहारले अन्तर्राष्ट्रिय बजारमा समेत हलचल पैदा गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij