चितवन : मालपोत कार्यालय भरतपुर मा अनधिकृत रूपमा प्रवेश गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। कार्यालयले एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको जनाएको छ। सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही व्यक्तिहरू अनधिकृत रूपमा कार्यालय प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गुनासो आएपछि यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ।
अबदेखि सेवा लिन आउने सम्बन्धित व्यक्तिहरू तथा कानुनबमोजिम दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइने स्पष्ट पारिएको छ। त्यस्तै, सेवासम्बन्धी काम सम्बन्धित व्यक्तिले पेस गरेको निवेदन र कानुनअनुसार दर्ता भएका भू–सेवा सञ्चालकहरूले पेस गरेका कागजातका आधारमा मात्र अगाडि बढाइने कार्यालयले जनाएको छ।
साथै, भू–सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। कार्यालयले सेवाग्राहीलाई अनधिकृत व्यक्तिको भर नपर्न र आधिकारिक प्रक्रिया अपनाउन आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij