चितवन — दशौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ को आयोजनामा सञ्चालन हुन लागेको प्रदर्शनी चैत २९ गतेसम्म जारी रहनेछ ।
सङ्घले आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रदर्शनीबारे जानकारी दिँदै अध्यक्ष मदन घिमिरे ले नेपालका उद्योगहरूको प्रवर्द्धन गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
प्रदर्शनीमा उत्पादन तथा सेवामूलक उद्योगका लागि उपयोगी हुने आधुनिक मेसिन तथा प्रविधिको प्रदर्शन गरिनेछ । साथै हस्तकला, गार्मेन्ट, निर्माणजन्य सामग्री, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, कृषि तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न सामग्रीहरू प्रदर्शनीमा राखिनेछन् ।
प्रदर्शनीमा सातवटै प्रदेशका स्टलहरू रहनेछन् । राष्ट्रिय आविष्कार केन्द्र को प्रविधि तथा मेसिनरीका साथै ‘मेक इन नेपाल’ स्वदेशी अभियानमा आबद्ध उद्योगहरूका स्टलसमेत समावेश गरिने आयोजकले जनाएको छ ।
करिब एक सय वटा स्टल रहने उक्त प्रदर्शनीमा २५ हजारभन्दा बढी उद्योगी तथा व्यवसायीको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालमा उत्पादित सामग्री भारत, इथोपिया र श्रीलङ्काजस्ता देशमा निर्यात भइरहेकाले प्रदर्शनीले उत्पादित वस्तुको बजारीकरणमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
यसका साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्यबारे विशेष छलफलसमेत आयोजना गरिनेछ । युवाहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्दै रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत स्वदेशी उद्योगको विकासमा प्रदर्शनी सहयोगी बन्ने आयोजकको अपेक्षा छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij