Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

फेटा गाउँपालिकाको सूचनामा भ्रष्टाचार : तीन जनालाई कैद र जरिवाना

फेटा गाउँपालिकाको सूचनामा भ्रष्टाचार : तीन जनालाई कैद र जरिवाना

काठमाडौँ : विशेष अदालतले बाराको फेटा गाउँपालिकाको कृषि विद्युतीकरण कार्यक्रमको बोलपत्र आह्वानसम्बन्धी झुट्टा विवरण पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै तीन जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।

न्यायाधीशहरू नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त फैसला गरेको हो । अदालतले  गौरी शंकर कुमार सिंह, नेपाल मिडिया हाउस प्रालि र सो संस्थाका प्रबन्ध निर्देशक नवराज निरौलालाई दोषी ठहर गरेको छ । मुकेश प्रसाद साहलाई भने अदालतले सफाइ दिएको छ। अदालतले मुख्य कसुरदार ठहरिएका गौरी शंकर कुमार सिंहलाई ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना गर्ने फैसला गरेको छ ।

त्यस्तै मतियारको भूमिकामा रहेका नेपाल मिडिया हाउस प्रालि र त्यसका प्रबन्ध निर्देशक नवराज निरौलालाई पनि जनही ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना तोकिएको छ । साथै उनीहरू तीनै जनालाई 'अपराध पीडित संरक्षण ऐन, २०७५' बमोजिम जनही १ हजार ८९५ रुपैयाँ ४७ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नसमेत आदेश दिएको छ ।

बाराको फेटा गाउँपालिका अन्तर्गत कृषि विद्युतीकरण कार्यक्रमका लागि पोल गाड्ने र तार तान्ने ठेक्काको बोलपत्र आह्वान सम्बन्धी सूचना 'सौर्य दैनिक' पत्रिकामा २०७९ कात्तिक २० गते प्रकाशित भएको भनी झुट्टा बिल र भरपाई तयार पारिएको थियो । सोही झुट्टा कागजका आधारमा १ लाख ४२ हजार १६० रुपैयाँ सरकारी रकम भुक्तानी लिएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij