Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

रास्वपा सांसदसँग सम्बन्धित क्यासिनोमा प्रहरी कारबाही, लाखौँ नगदसहित ६ जना पक्राउ

रास्वपा सांसदसँग सम्बन्धित क्यासिनोमा प्रहरी कारबाही, लाखौँ नगदसहित ६ जना पक्राउ

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नरेन्द्र साह कलवार सँग सम्बन्धित क्यासिनोबाट कानून विपरित जुवा खेलिरहेको अवस्थामा ६ जना नेपाली नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरी ले रुपन्देही जिल्ला को मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट भित्र सञ्चालित ‘सीएमजी क्लब क्यासिनो’ मा छापा मार्दा ४ जना खेल्ने र २ जना खेलाउने गरी ६ जनालाई नियन्त्रणमा लिएको हो।

कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गर्न, जुवा खेल्न तथा खेलाउन प्रतिबन्ध छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट डीएसपीको नेतृत्वमा खटिएको टोलीले बुधबार राति चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले क्यासिनोका कर्मचारी सर्लाही बरहथवा–८ का ३१ वर्षीय मुकेशकुमार श्रेष्ठ र ललितपुर गोदावरी–१५ का ४१ वर्षीय अजय केसीलाई नियन्त्रणमा लिएको छ। त्यसैगरी जुवा खेल्ने रुपन्देही बुटवलका गोबिन्द शर्मा, बासुदेव गौतम, कृष्ण गौतम र चन्द्रप्रसाद श्रेष्ठ पनि पक्राउ परेका छन्।

पक्राउ परेकाहरूको साथबाट ७ गड्डी तास, २ लाख १७ हजार ३९० रुपैयाँ नेपाली नगद र ३ हजार ५०० भारतीय रुपैयाँ बरामद गरिएको छ। साथै १ लाख २५ हजार भारतीय रुपैयाँ बराबरका क्यासिनो क्वाइन र ६ थान मोबाइल सेट पनि प्रहरीले बरामद गरेको जनाएको छ।

उक्त क्यासिनो नरेन्द्र साह कलवार सँग सम्बन्धित रहेको र उनका अन्य क्यासिनोहरू समेत सञ्चालनमा रहेको जनाइएको छ। अदालतको अन्तरिम आदेशको आधारमा विभिन्न स्थानमा क्यासिनो सञ्चालन हुँदै आएको र नेपालीलाई सहज प्रवेश गराइएको तथा राजस्व छलीसम्बन्धी विषयमा पनि प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij