Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

फेक रेस्क्युमा मिङमा शेर्पासँग किन सोधपुछ गरेन सीआइबीले ?

फेक रेस्क्युमा मिङमा शेर्पासँग किन सोधपुछ गरेन सीआइबीले ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसदको उम्मेदवार रहेका मिङमा शेर्पाको फेक रेस्क्यु धन्दामा शंकास्पद सम्बन्ध देखिएपनि उनलाई सोधपुछ समेत नगरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उन्मुक्ति दिएको छ । सीआइबीले उनकी श्रीमती चुङला शेर्पालाई मुद्दा चलाएको छ । तर, मिङमामाथि सोधपुछ समेत नहुनले सिआइबीको अनुसन्धानमाथि प्रश्न उठेको छ । सीआइबीले तीन साताअघि ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा १० जना पक्राउ परेका थिए । उनीहरु सबैजना सामान्य धरौटीमा छुटिसकेका छन् ।

यति गम्भीर मुद्दाका आरोपीहरू यसरी सहजै छुट्नुका पछाडि अनुसन्धानमा प्रमाण कमजोर भएर त होइन ? भन्ने प्रश्न समेत उठेको छ । जबकी बयानकै क्रममा डा.गिवार्णराज तिमल्सिनाले एरा अस्पतालको मुख्य सञ्चालक मिङमा भएको बताएका छन् ।

फेक रेस्क्युको धन्दाबाट सोह्रखुट्टेस्थित एरा अस्पतालले फर्जी बिल बनाएर करोडौं असुली गरेको थियो । सोही अस्पतालका मुख्य लगानीकर्तामध्ये एक मिङमा हुन् । उनले शेयर श्रीमतीको नाममा राखेका थिए । सोही कारण श्रीमतीलाई मुद्दा दायर गरिएको हो । गत साता सिआइबीले ३२ जनाविरुद्ध मुद्दा दायर गरेकोमा २० औं नम्बरमा चुङलाको नाम छ । उनलाई फरार प्रतिवादी बनाइएको छ ।

शेर्पा हालै सम्पन्न निर्वाचनमा संखुवासभाबाट रास्वपाका उम्मेदवार थिए । जो ६३६ मतान्तरले एमालेका अर्जुन कार्कीसँग पराजित भए । विगतमा कांग्रेसमा आबद्ध भएका उनी बालेनसँग नजिक भएर रास्वपामा लागेका हुन् । हाल रास्वपाकै सरकार भएकाले कतै सीआइबीले उनीमाथि सोधपुछ नगरेको त होइन भन्ने शंका समेत उत्पन्न भएको छ ।

मिङमा सगरमाथा आरोहण गराउने प्रमुख कम्पनीमध्ये एक सेभेन समिट ट्रेकका अध्यक्ष हुन् । उनको हेलि एभरेष्ट हेलिकोप्टर कम्पनी पनि छ । सो हेलिकोप्टर कम्पनीले पनि शंकास्पद उडानहरू गरेका संकेत देखिएका थिए । तर, केही प्रहरी अधिकारीहरुसँगको निकटताका आधारमा पनि मिङमालाई भने उन्मुक्ति दिएको चर्चा पर्यटन क्षेत्रमा छ ।

त्यसो त सीआइबीले यसमा मुछिएकाहरुको सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गर्ने जनाएको थियो । त्यो अनुसन्धान पनि सुस्त देखिएको छ ।

यसरी छानबिन गर्दा एरा अस्पतालका सञ्चालकहरुको गर्नैपर्ने हुन्छ । अनुसन्धान गर्दा मिङमाको सबै सम्पत्ति रोक्का गर्नुपर्ने हुन्छ । रास्वपा सरकारको असर सीआइबीको अनुसन्धानमा परेको आशंका गर्न थालिएको छ । सो मुद्दामा पक्राउ परेका मुक्ति पाण्डे पनि गृहमन्त्री सुधन गुरुङका निकटस्थ व्यक्ति हुन् ।

सीआईबी प्रमुख मनोज केसीले विदेशमा समेत नेपालको बद्नामी भइरहेको यस्तो संवेदनशिल विषयको अनुसन्धानलाई सुरुमै मिडियामार्फत हल्ला गराई निष्कर्षमा पुर्याउन नसकेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij