Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

सम्पत्तिको विवादले निम्त्याएको अपराध : पोखरामा भएको सिर्जना हत्याका दुई मुख्य अभियुक्त पक्राउ

सम्पत्तिको विवादले निम्त्याएको अपराध : पोखरामा भएको सिर्जना हत्याका दुई मुख्य अभियुक्त पक्राउ

कास्की : कास्की प्रहरीले पोखरामा भएको सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई जना मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पारिवारिक झैझगडा र अंश विवादका कारण सुनियोजित रूपमा उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी घटनाको विस्तृत विवरण र अभियुक्तहरूको पहिचान सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा भाञ्जा नाता पर्ने सन्तोष भन्ने शिशिर केसी र उनका साथी कुशल परियार छन् ।

गत चैत २७ गते साँझ करिब ७ बजेर ६ मिनेटको समयमा सिर्जनामाथि साङ्घातिक आक्रमण भएको थियो। पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह चोकनजिकै सञ्चालन गर्दै आएको आफ्नो मासु पसल बन्द गरेर पैदल घरतर्फ जाँदै गरेकी उनीमाथि पोखरा–बागलुङ सडकखण्डको शिवालय चोकनजिकै धारिलो हतियार खुकुरी प्रहार भएको थियो।

अभियुक्तहरूले दिउँसैदेखि सिर्जनाको निगरानी गरेको र आक्रमणका लागि एकान्त तथा अँध्यारो ठाउँ रोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ। मौका छोपेर उनीहरूले सिर्जनालाई पछाडिबाट खुकुरी प्रहार गरेका थिए।

कास्कीका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको मुख्य कारण पारिवारिक झैझगडा र अंश मुद्दा रहेको पाइएको छ। मृतक सिर्जनाले ९ वर्षअघि कृष्ण क्षेत्रीसँग दोस्रो विवाह गरेकी थिइन्।

कृष्णका जेठी श्रीमतीतर्फका छोराछोरी र सिर्जनाबिच सम्पत्तिको विषयलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको र सोही विवादले हत्याको रूप लिएको एसपी कार्कीले जानकारी दिए।
पत्रकार सम्मेलनमार्फत घटनाबारे प्रस्ट पार्दै एसपी कार्कीले यो घटना आवेशमा आएर नभई पूर्वनियोजित रूपमा घटाइएको बताए। उनले भने, ‘हामीले म्यानुअल्ली र प्राविधिक रूपमा विश्लेषण गरेर सूक्ष्म ढङ्गले सूचनाहरू सङ्कलन गरी अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएका छौँ। यो पूर्ण रूपमा योजनाबद्ध हत्या भएको देखिन्छ।’

पक्राउ परेका अभियुक्तहरूमाथि प्रहरीले थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij