काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राजश्व चुहावट र बहुचर्चित युनिटी ठगी काण्डका दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। ब्युरोको विशेष टोलीले छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई समातेर फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरेको हो।
राजश्व चुहावट मुद्दामा दोषी ठहर भएका अंकुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपाइटर ३१ वर्षीय प्रवीण कुमार महतो पक्राउ परेका छन्। सर्लाही घर भई हाल काठमाडौँको कुलेश्वर बस्ने महतोलाई उच्च अदालत पाटनले २०८१ वैशाख १७ गते ४ करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो। फैसलापछि फरार रहेका उनलाई ब्युरोले चैत २७ गते कुलेश्वरबाटै नियन्त्रणमा लिएको हो।
युनिटी लाइफका सञ्चालक महेन्द्र केसी पनि खोरमा
यस्तै, सर्वसाधारणलाई ठगी गरेको अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका सञ्चालक ५२ वर्षीय महेन्द्र केसी पनि पक्राउ परेका छन्। बागलुङ घर भई सामाखुसी बस्ने केसीलाई सर्वोच्चले २०८२ वैशाख २ गते २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। ब्युरोको टोलीले उनलाई चैत २७ गते सामाखुसीबाट पक्राउ गरेको हो।पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij