कुरिनटार : सशस्त्र प्रहरी बल,नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय,कुरिनटाले २२औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। बुधबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च पदाधिकारी,विभिन्न सुरक्षा निकायका प्रतिनिधि,स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहेको थियो। उक्त अवसरमा शिक्षालयको स्थापना र विकासक्रमबारे जानकारी गराउँदै यसको भूमिका विपद् उद्धार तथा जोखिम न्यूनीकरणमा महत्वपूर्ण रहेको उल्लेख गरिएको थियो। शिक्षालय चितवनको इच्छाकामना गाउँपालिका–४,कुरिनटारमा अवस्थित छ।
शिक्षालय,ले आर्थिक वर्ष २०६८ सालदेखि हालसम्म विभिन्न प्रकारका ३९३ वटा विपद्का घटनामा सक्रिय रूपमा उद्धार कार्य सञ्चालन गरेको जनाएको छ।उपलब्ध तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी १८३ वटा सडक दुर्घटनामा उद्धार कार्य गरिएको छ। त्यसैगरी १३ वटा पहिरो, १६७ वटा नदीजन्य घटना, १२ वटा आगलागी र १८ वटा अन्य घटनामा पनि टोली परिचालन गरिएको शिक्षालयले जनाएको छ।उक्त घटनाहरूमा कुल ६५१२ पटक फौज परिचालन गरिएको थियो। उद्धार कार्यका क्रममा १००७ जना व्यक्तिलाई जीवित उद्धार गरिएको छ भने ४२१ जना मृतकको शवसमेत रिकभर गरिएको जानकारी दिइएको छ।

सहभागीहरूले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलको योगदानको प्रशंसा गरेका थिए।प्रमुख अतिथि महानिरीक्षक अर्यालले सीमित स्रोत साधनका बाबजुत पनि सशस्त्र प्रहरीले देश र नागरिकको सुरक्षामा महत्वपूर्णभूमिका निर्वाह गरिरहेको बताउनुभयो।साथै उहाँले सशस्त्र प्रहरी बल तालिम शिक्षालय कुरिनटारले संगठनको गरिमा उच्च बनाएको बताउनुभयो।यहाँबाट तालिम प्राप्त जनशक्तिले देशभरका विभिन्न विपद् परिस्थितिहरुमा उच्च व्यवसायिकता साहस र समर्पणका साथ कार्य गर्दै संगठनको गरिमा उच्च बनाएको उहाँको भनाई छ । गोतार भन्न वितिकै कुरिनटार सम्झिने गरेको र यसलाई राष्ट्रिय स्तरमा ब्राण्डको रुपमा विकास गरिने बताउनुभयो ।
यस अवसरमा कार्यक्रममा सम्मान तथा पुरस्कारहरु वितरणका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij