काठमाडौँ : देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाभित्र ६ जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्।
नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–४ पनौती बस्ने ३६ वर्षीय कुलचन्द्र महतो आइतबार मृत अवस्थामा भेटिएका छन्। उनी आफ्नो घर नजिकै रहेको उल्टे खोलामा मृत फेला परेका हुन्। यस्तै, दाङको बंगलाचुली गाउँपालिका–८ सिम्लेकी २० वर्षीया लिला कँवर मगर पनि घर नजिकैको घोस खोलामा आइतबार मृत फेला परेकी छिन्।
चितवनको माडी नगरपालिका–१ द्रोपतिनगरस्थित बाँसघारीमा एक पुरुषको शव फेला परेको छ। अन्दाजी ३४ वर्षका देखिने ती पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन। शनिबार फेला परेको उक्त शवको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ थाखेलडाँडा बस्ने ५० वर्षीय चन्द्र बहादुर सुनार शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। घरभित्रै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
यसैगरी रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई जना मृत भेटिएका छन्। तिलोत्तमा–४ बिपिमार्गमा डेरा गरी बस्ने स्याङजाकी २९ वर्षीया ज्योती भुजेल आइतबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन्। सोही नगरपालिकाको वडा नम्बर ४ सुनौलोनगर बस्ने ४० वर्षीय कमल नेपाली पनि आइतबार आफ्नै घरमा मृत फेला परेका छन्।सबै मृत शरीरहरूलाई पोस्टमार्टमका लागि सम्बन्धित जिल्ला अस्पतालहरूमा पठाइएको छ। घटनाहरू प्राकृतिक हुन् वा अन्य कुनै कारण छन् भन्नेबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij