बुटवल : पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेको बुटवलमा गर्भपतन गराउने क्रममा मृत्यु भएको छ। विभिन्न क्लिनिकमा गरिएको उपचारका क्रममा लापरबाही भएको आरोप उठेको छ।
करिब १२ हप्ताको गर्भ अस्वस्थ भएको भन्दै चैत २७ र वैशाख ५ गते श्रीमानसहित बुटवल आएकी पाण्डे सुरुवातमा इट्टाभट्टीस्थित खत्री नर्सिङ होममा नियमित फलोअपसहित उपचारका लागि पुगेकी थिइन्। त्यहाँबाट थप उपचारका लागि उनलाई जोनल फार्मेसीमा रिफर गरिएको थियो। जोनल फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मीले गर्भपतन गराउन औषधि प्रयोग गरेका थिए।
तर त्यहाँबाट पनि प्रक्रिया सफल नभएपछि उनलाई सोही क्षेत्रको इन्दुलेखा क्लिनिकमा लगिएको थियो। त्यहाँ समेत औषधि प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। लगातार औषधि प्रयोगपछि स्वास्थ्य अवस्था गम्भीर बनेकी पाण्डेलाई अन्ततः लुम्बिनी सिटी अस्पताल पुर्याइएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रारम्भिक तथ्यले अनुभवी तथा विशेषज्ञ चिकित्सकको सल्लाहबिना नर्सिङ होम, क्लिनिक र फार्मेसीमार्फत असुरक्षित तरिकाले औषधि प्रयोग गरिएको देखाएको छ। यसले घटनामा गम्भीर लापरबाही भएको आशंका बलियो बनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार मृतकका श्रीमानले घटनाबारे जाहेरी दर्ता गराएपछि अनुसन्धान सुरु गरिएको बताए ।
“घटनामा संलग्न फार्मासिस्ट र सञ्चालकलाई नियन्त्रणमा लिएका छौँ, आवश्यक परे अन्य चिकित्सकलाई पनि अनुसन्धानका लागि ल्याइनेछ,” उनले भने। खत्री नर्सिङ होमका सञ्चालक डिबि खत्री , जोनल फार्मेसीका सञ्चालक बिष्णु गौतम र इन्दुलेखा क्लिनकका सञ्चालक सतिश रुपाखेती हुन् । प्रहरीले घटनासँग सम्बन्धित तीन जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा खत्री पोलिक्लिनिककी सन्ध्या बस्नेत, जोनल क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डे रहेका छन्। बुटवल क्षेत्रमा अवैध रूपमा गर्भपतन गराउने क्लिनिक तथा फार्मेसीहरूको संख्या बढ्दो रहेको पाइएको छ।
सम्बन्धित निकायको स्वीकृति र दक्ष चिकित्सकको निगरानीबिना सेवा दिने प्रवृत्तिले यस्ता जोखिमपूर्ण घटना दोहोरिने खतरा बढाएको सरोकारवालाहरू बताउँछन्। बुटवलसहित विभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा उपचार गराउँदा लापरबाहीका कारण महिलाहरूले अकालमै ज्यान गुमाउने घटनाले चिन्ता थपेको छ। यसो त कतिपय क्लिनिक र त्यहाँ कार्यरत स्त्रीरोग विशेषज्ञले असुरक्षित गर्भपतनका क्रियाकलाप मात्र गर्ने गरेको पाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij