Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

अजरवैजान र फिजी पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने पक्राउ

अजरवैजान र फिजी पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौँ :  आकर्षक तलबको लोभ देखाएर वैदेशिक रोजगारीका लागि अजरवैजान र फिजी पठाईदिन्छु भन्दै युवाहरूलाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं. २ स्थायी घर भई हाल काठमाडौँको डल्लु बस्ने ३२ वर्षीय शक्ति लामा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामाले ६ जना पीडितहरूबाट कूल २६ लाख ६३ हजार ७१० रुपैयाँ असुलेर लामो समयसम्म सम्पर्कविहीन भएका थिए । 

बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीको झुटा आश्वासन दिई रकम लिएर विदेश नपठाई ठगी गरेको भन्दै पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो साढे १२ बजे डल्लुबाट पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा लामा यसअघि पनि बैंकिङ कसुर मुद्दामा फरार रहेको खुलेको छ। उनले दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरमा दर्ता भएको ५ लाख रुपैयाँ बिगो बराबरको बैंकिङ कसुर मुद्दामा समेत प्रहरीलाई छक्याउँदै आएका थिए । 

लामालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij