काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे प्रवास नेपाली सम्पर्क विभागले विश्वभर फैलिएका नेपालीहरूलाई केवल रेमिट्यान्सको स्रोत नभई राष्ट्र निर्माणका सह–निर्माताका रूपमा स्थापित गर्ने उद्देश्यसहित प्रवास केन्द्रित विभिन्न महत्त्वाकाङ्क्षी कार्यक्रमहरू सार्वजनिक गरिएको छ ।
प्रवास नेपाली सम्पर्क विभागले विदेशमा रहेका नेपालीहरूको सीप, अनुभव र नेटवर्कलाई देशको विकासमा प्रत्यक्ष जोड्ने लक्ष्य राख्दै बहुआयामिक अभियान अघि बढाउने जनाएको छ ।
सबैभन्दा प्रमुख रूपमा “प्रवास सदस्यता विस्तार अभियान” सञ्चालन गर्दै कम्तीमा १० लाख प्रवासी नेपालीलाई औपचारिक रूपमा पार्टीसँग आबद्ध गराउने लक्ष्य लिइएको छ। यस अभियानले प्रवासी नेपालीहरूलाई नीति निर्माणदेखि विकास प्रक्रियासम्म प्रत्यक्ष सहभागी बनाउने विश्वास गरिएको छ।
त्यसैगरी, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न “प्रोफाइल बैंक” स्थापना गरिनेछ। यसमार्फत नेपालमा लगानीको सम्भावना पहिचान, विदेशमा सिकिएका सीपहरूको उपयोग, स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन र स्वदेश फर्कने लगानीकर्ताहरूलाई मार्गदर्शन प्रदान गरिनेछ। प्रोफाइल बैंकपछि “आइडिया बैंक” सञ्चालनमा ल्याइने योजना पनि रहेको छ।
प्रवास विभागकै नेतृत्वमा पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण अभियानसमेत अघि बढाइनेछ, जसमा विश्वभरका प्रवासी सङ्गठनहरूको सक्रिय सहभागिता रहने बताइएको छ।
नेपालका उत्पादन र सेवाहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले “निर्यात सम्भावना सूची” तयार गरिनेछ। यसमा कृषि उत्पादन, हस्तकला, जडीबुटी, आईटी सेवा तथा पर्यटनसँग सम्बन्धित प्याकेजहरू समावेश गरिने छन्। “जहाँ नेपाली, त्यहीँ नेपाली उत्पादन” भन्ने अभियानमार्फत नेपाली उत्पादनलाई विश्वव्यापी पहुँच दिलाउने लक्ष्य राखिएको छ।
प्रवासी नेपालीहरूको समस्या समाधानका लागि २४ सै घण्टा सञ्चालन हुने समन्वय प्रणाली स्थापना गरिनेछ। यसले श्रमिक तथा विद्यार्थीलाई सहायता, आपतकालीन स्वास्थ्य सहयोग र दूतावाससँग समन्वयजस्ता सेवा प्रदान गर्नेछ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि मजबुत बनाउन विभिन्न सेमिनार, संवाद कार्यक्रम तथा नीति बहसहरू आयोजना गरिनेछन्। साथै, प्रवास नेटवर्कमार्फत नेपाललाई सुरक्षित र आकर्षक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न डिजिटल अभियानहरू सञ्चालन गरिनेछ।
प्रवासी नेपालीहरूको अधिकारका विषयमा पनि विशेष जोड दिइएको छ। दोहोरो नागरिकताको सिद्धान्तलाई समर्थन गर्दै सम्पत्तिसम्बन्धी प्रशासनिक झन्झट अन्त्य गर्ने र विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
हाल संसद्मा सुरु भएको परिवर्तनलाई देशको हरेक क्षेत्रमा विस्तार गर्ने लक्ष्यसहित “सँगै अघि बढौँ” भन्ने आह्वानसमेत गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij