काठमाडौँ : सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
२०८१ जेठ ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
आयोगले पौडेलले पत्नी एलिना बस्नेतको नाममा समेत सिंगापुर र अमेरिकामा रकम लुकाएको देखिएको भन्दै अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग थियो । आपूर्तिकर्ताबाट कमिसन लिएको देखिएको, त्यो रकम विभिन्न व्यक्तिको नाममा परिचालन भएको अख्तियारको दाबी छ ।
पौडेलले नेपालबाहेक सिंगापुरको युनाइटेड ओभरसिज बैंक र अमेरिकाको बैंक अफ अमेरिकाको खातामा जम्मा भएको रकम पनि भ्रष्टाचारबाट आर्जित भएको आयोगको दाबी छ । पौडेलले करिब ५ वर्ष सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएका थिए । त्यसअघि उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रमा इन्जिनियरको रूपमा कार्यरत थिए ।
सुरक्षण मुद्रण केन्द्रले ठेक्का सम्झौता गरेका विभिन्न कम्पनीहरूसँग कारोबारमा संलग्न विदेशी कम्पनीहरूसँग पौडेलले घुस लिएको अख्तियारको आरोप छ । अख्तियारले सिंगापुरमा मात्रै विकल पौडेलको नाममा २८ करोड ९५ लाख रुपैयाँ सङ्कलन भएको दाबी गरेको छ ।
त्यतिबेला उनी सिंगापुरको बैंकोटेक र इन्स्टासेफ नामक कम्पनीमा परामर्शदाताको रूपमा नियुक्ति लिएको कागजात तयार पारेका थिए । उनले ताहिर साह, अकबर हुसेन, मनोज कार्की र ऋचा खनालको नाममा मात्रै २ करोड ४४ लाख रुपैयाँ भुक्तानी भएको भेटिएको छ ।
उनले प्रशान्तजी नामक व्यक्तिसँगको डिल गरी २ करोड १४ लाख डलर अमेरिकाको बैङ्कमा लुकाएको अख्तियारको दाबी छ । उनले अमेरिकामा मात्रै १३ करोड लुकाएको अख्तियारको दाबी छ । उनले बाबुआमासँग अंशबन्डा गरेको देखाइ परिवारका सदस्यहरूसँग महाकाल, छालिङ लगायतका ठाउँमा जग्गा किनेको अख्तियारको आरोप छ ।
उनले श्रीमती एलिना बस्नेतको नाममा अमेरिकाको न्यूयोर्कमा ५ लाख १५ हजार डलरमा घर खरिद गरेका थिए । अख्तियारले विकल पौडेलका साथै उनकी श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल, आमा शीतल पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ । विदेशी बैङ्कमा रहेको सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।
विकल पौडेलमाथि अनुसन्धान हुँदा उनले ६२ करोड १९ लाख भ्रष्टाचार गरेको खुलेको, तर खोजबिन गर्दा ४४ करोड ५२ लाख मात्रै भेटिएको भन्दै उसले लुकाइएको १७ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न माग गरेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij