चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा बिहीबार बिहान करिब १ः३० बजे भरतपुर महानगरपालिका–२९ चौकीडाँडा क्षेत्रमा विशेष चेकजाँचका क्रममा प्रहरीले भारतीय नम्बर प्लेटको पिकअप गाडीबाट गाँजा बरामद गरेको हो।
प्रहरीले BR 01 PE 6943 नम्बरको पिकअप गाडी रोकी जाँच गर्ने क्रममा सिटमुनि फल्स बटन बनाई लुकाइछिपाइ राखिएको अवस्थामा ३० प्याकेट गाँजा फेला पारेको जनाएको छ। बरामद गरिएको गाँजाको कुल तौल ९५ केजी ९६५ ग्राम रहेको छ।
घटनामा संलग्न रहेको आरोपमा कालिका नगरपालिका–३ पदमपुर बस्ने २७ वर्षीय देवचन्द्र स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै उक्त पिकअप गाडी पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य जारी रहेको छ। प्रारम्भिक सोधपुछका क्रममा गाँजाको मूल्य प्रतिकेजी करिब ६ हजार रुपैयाँ पर्ने खुलेको र सोअनुसार बरामद गाँजाको कुल मूल्य करिब ५ लाख ७५ हजार ७ सय ९० रुपैयाँ हुने अनुमान गरिएको छ।
लागुऔषध नियन्त्रणसम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij