काठमाडौँ : काठमाडौँको माकलबारीमा भएको चोरीको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। २०८२ पुस २७ गते गोकर्णेश्वर नगरपालिका–८ माकलबारीस्थित एक बन्द कोठाको ताला फोडेर सुनका गरगहना, मोबाइल र १ लाख ६२ हजार रुपैयाँ नगद चोरी गर्ने २३ वर्षीय विज्ञान परियार भन्ने बिकेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
माकलबारीमा कोही नभएको समयमा दिउँसो २ बजेदेखि राति ८ बजेको बिचमा उनले कोठा फोडेर धनमाल लुटेको प्रहरीको ठहर छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको बौद्धस्थित शाखाबाट खटिएको विशेष टोलीले उनलाई वैशाख ९ गते नयाँ बजारबाट पक्राउ गरेको हो।
नुवाकोटको बिदुर नगरपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएका परियारको साथबाट चोरीको एक थान मोबाइल समेत बरामद भएको छ।
अनुसन्धानका क्रममा परियार ‘सिरियल’ चोरीमा संलग्न रहेको र यसअघि नै कैद भुक्तान गरिरहेको अवस्थामा कारागारबाट भागेको खुल्न आएको छ। नकबजनी चोरीकै मुद्दामा जेल परेका उनी २०८२ भदौ २४ गते ललितपुरको नख्खु कारागारमा भएको जेनजी आन्दोलनको मौका छोपेर फरार भएका थिए।
उनको आपराधिक रेकर्ड निकै लामो देखिएको छ। परियार विरुद्ध यसअघि २०७६ सालदेखि २०८१ सालसम्म प्रहरी वृत्त स्वयम्भू, जनसेवा र मालीगाउँमा पटक–पटक चोरी मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए।पक्राउ परेका परियारलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij