मकवानपुर : बागमती प्रदेश सरकारले कर्मचारीहरूको कार्य सम्पादनलाई प्रभावकारी र गुनासारहित बनाउन विद्युतीय हाजिर अनिवार्य गरेको छ । आफ्ना मातहतका कर्मचारीहरूको अनुशासन र समयपालनालाई प्रभावकारी बनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले विद्यालयीय हाजिर अनिवार्यसँगै रिपोर्ट पेस गर्न निर्देशन गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाले शुक्रबार एक परिपत्र जारी गर्दै प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूलाई कर्मचारीको हाजिरी विवरण अनिवार्य रूपमा विद्युतीय प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको हो । परिपत्रमा कर्मचारीहरू कार्यालयमा आएको, गएको, काज तथा बिदा लगायतका सबै विवरण विद्युतीय हाजिरी प्रणालीबाटै देखिने व्यवस्था मिलाउन भनिएको छ ।
साथै परिपत्र मार्फत प्रत्येक महिनाको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित अभिलेख महिना समाप्त भएको तीन कार्य दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन समेत निर्देशन दिइएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार कर्मचारीहरू समयमा कार्यालयमा नपुग्ने, कार्यालय समय नसकिँदै घर जाने र खाजा खाने निश्चित समयभन्दा बढी घण्टौँसम्म बाहिर बस्ने गरेको गुनासो आएपछि उक्त निर्देशन दिएको जनाइएको छ ।
सरकारी सेवा प्रवाहमा ढिलासुस्ती हुनुको एउटा मुख्य कारण कर्मचारीको अनुपस्थिति र समयपालना नगर्नु रहेकाले सरकारले निगरानी बढाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत ऋषिराम भुषालले बताए । विद्युतीय हाजिरी प्रणाली र त्यसको मासिक रिपोर्ट मुख्यमन्त्री कार्यालयमा बुझाउनुपर्ने व्यवस्थाले कर्मचारीको कार्यशैलीमा सुधार आउने र सेवाग्राहीले समयमै सेवा पाउने अपेक्षा सरकारको रहेको उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij