Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

गीता पाण्डे मृत्यु प्रकरणः संलग्न चिकित्सक निलम्बित, क्लिनिक बन्द सिफारिस

गीता पाण्डे मृत्यु प्रकरणः संलग्न चिकित्सक निलम्बित, क्लिनिक बन्द सिफारिस

बुटवल : बुटवलमा गर्भवती गीता पाण्डेको मृत्यु प्रकरणले गम्भीर मोड लिएको छ। घटनामा संलग्न एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ भने सम्बन्धित स्वास्थ्य संस्थामाथि समेत कडा कारबाहीको प्रक्रिया अघि बढाइएको छ।छानबिन समितिको सिफारिसका आधारमा काउन्सिलले डा. सतिषकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो। काउन्सिलका रजिष्ट्रार डा. सतिषकुमार देवका अनुसार शनिबार बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो।

काउन्सिलले घटनामा संलग्न ‘जोनल फार्मेसी’ र ‘ईन्दुलेखा स्वास्थ्य क्लिनिक’लाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ। साथै उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीमाथि पनि कारबाहीको सिफारिस गरिएको जनाइएको छ।

पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको झण्डै १४ हप्ताको गर्भपतन गराउने क्रममा वैशाख ६ गते मृत्यु भएको थियो। परिवारले भने गर्भ १२ हप्ताको मात्र रहेको दाबी गरे पनि छानबिन समितिको प्रतिवेदनले १३ हप्ताभन्दा बढी समयको गर्भ रहेको देखाएको छ।

समितिको निष्कर्षअनुसार गीता पाण्डेलाई गर्भपतनसम्बन्धी औषधि उपलब्ध गराउने ‘जोनल फार्मेसी’ र अन्तिम चरणमा संलग्न ‘ईन्दुलेखा स्वास्थ्य क्लिनिक’ दुवैले आवश्यक स्वीकृति नलिई सेवा दिएको पाइएको छ। चिकित्सकहरूको आचारसंहिता, २०१७ अनुसार प्रारम्भिक कारबाहीस्वरूप निलम्बन गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार अन्तिम प्रतिवेदन नआएसम्मका लागि यो कारबाही गरिएको हो। घटनामा फौजदारी अभियोग समेत आकर्षित हुन सक्ने भएकाले अन्तिम निर्णय विस्तृत प्रतिवेदनपछि मात्र गरिने बताइएको छ।

यस प्रकरणमा मेडिकल काउन्सिलले केन्द्रीय सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा प्राडा पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, अधिवक्ता गोविन्दप्रसाद मरासिनी र पत्रकार दिनेश पाण्डे सदस्य रहेका छन्।

२६ पृष्ठ लामो प्रतिवेदनमा समितिले दोषी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कारबाही, सम्बन्धित स्वास्थ्य संस्था बन्द, नियमित अनुगमन सुदृढीकरण र अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई दर्ता तथा नियमन गर्ने सुझाव दिएको छ।

मृतक गीताका पति प्रकाश पाण्डेले घटनाबारे जाहेरी दिएका छन्। जानकारी अनुसार, १३ हप्ताभन्दा बढीको गर्भ अस्वस्थ रहेको बताएपछि गीता विभिन्न स्वास्थ्य संस्था धाउँदै गर्भपतन गराउन पुगेकी थिइन्। वैशाख ५ गते खत्री नर्सिङ होम पुगेकी गीता त्यसको भोलिपल्ट वैशाख ६ गते उपचारकै क्रममा मृत्यु भएकी हुन्।

प्रहरीले यस घटनामा दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij